पर्यटनमन्त्री भारतमा : हवाई मार्गबारे भएको सहमतिमा कुराकानी हुने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सोमवार साँझ भारत प्रस्थान गरेका छन् । 

जनवरी १५ देखि १६ सम्म आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन भारत प्रस्थान गरेका हुन् ।  

उनको निजी सचिवालयका अनुसार मन्त्री अधिकारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र निर्देशक दीपक बराल पनि भारत गएमन छन् । 

भारत भ्रमणमा रहँदा मन्त्री अधिकारीले भारतीय अधिकारीसँगको साइडलाइन वार्तामा हवाईमार्ग प्रवेशविन्दु ‘एयर रुट’ सम्बन्धमा पनि कुराकानी हुने मन्त्रालय स्रोतले जनाएको छ । 

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतीय विमानन प्राधिकरणबीच नेपाललाई थप हवाई रुट दिने सम्झौता भएको थियो । उक्त सम्झौताबमोजिम लामो समय बितिसक्दा पनि भारतले हवाई रुट दिन चासो देखाएको छैन । गत असार २ गते भएको सहमतिअनुसार भारतले नेपाललाई थप तीन हवाई रुट दिने सहमति भएको थियो । 

सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेशविन्दुका लागि काठमाडौंदेखि विराटनगर तथा जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउने र दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कनका आधारमा उक्त रुटहरुबाट वायुयान नेपाल प्रवेश गर्न सक्ने उल्लेख गरिएको थियो । 

यस्तै पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि वर्तमान काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको आधारमा लागू गर्ने छ । 

यस्तै पूर्वतर्फ काठमाडौं–जनकपुर–पटनाबीचको एकतर्फी रुटलाई दुईतर्फी बनाउन दुवै पक्षबाट सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको अधारमा लागू गर्ने सहमति भएको थियो । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रारम्भिक प्रतिवेदनअनुसार सन् २०१८ मा विश्वभर ४.३ अर्ब यात्रुले हवाई यात्रा गरेका छन् । यसबाट अघिल्लो वर्षको तुलनामा हवाईयात्रुको सङ्ख्यामा ६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

एशिया प्रशान्त क्षेत्रमा हवाई यात्रुको सङ्ख्यामा ७.३ प्रतिशतले वृद्धि भएको देखिन्छ भने यो क्षेत्र संसारकै आन्तरिक हवाई यात्रुको सङ्ख्याको ४२ प्रतिशत हिस्सा ओगटी सर्वाधिक ठूलो आन्तरिक बजारको रुपमा विकसित भएको छ । 

भूपरिवेष्टित मुलुक भएकाले नेपालमा आउने सम्पूर्ण पर्यटक सङ्ख्याको ८० प्रतिशतभन्दा बढी पर्यटक हवाईमार्गबाटै आउने गरेका छन् । सन् १९४९ मा पहिलोपटक नेपालमा विमान अवतरण भएपश्चात् नेपालको उड्डयनको इतिहास प्रारम्भ भएको पाइन्छ । त्यसपछि नेपाल बाहिरी संसारसँग प्रत्यक्ष रुपमा जोडिन थाल्यो । 

सन् १९७८ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गठन भएपछि नागरिक उड्डयन विभागले यस मन्त्रालयअन्तर्गत सेवा दिँदै गर्दा पहिलो नागरिक उड्डयन नीति १९९३ र नागरिक उड्डयन ऐन १९९६ जारी भयो । तत्पश्चात् मुलुकमा एक स्वतन्त्र नियमक निकायको रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को सन् १९९८ मा स्थापना भयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?