‘रणवीर’ मा एक्सन मात्र छैन: प्रशान्त ताम्राकार

काठमाडौं । यतिबेला चर्चा रहेको र माघ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रणवीर’ मा खलनायकको भूमिकामा देखिएका कलाकार प्रशान्त ताम्राकारले यो चलचित्रमा एक्सन मात्र नभएको बताएका छन् ।

काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ट्रेलरका आधारमा फिल्मप्रति फरक–फरक प्रतिक्रिया आए पनि फिल्ममा भने लभ, रोमान्स, कमेडी सबैको संयोजन रहेको उनले बताए ।

चलचित्र ‘ऐश्वर्य’ पछि चर्चामा रहिरहेका प्रशान्तको यसअघि ‘जय शम्भु’ फिल्म रिलिज भएको थियो । यद्यपि उक्त फिल्मबाट भने प्रशान्तको खासै चर्चा भएन । ‘रणवीर’ मा आफू फेरि खलनायककै भूमिकामा देखिए पनि फिल्मले आफ्नो परिचय बदल्ने प्रशान्तले दाबी गरे ।

साथै उनले यो फिल्म ‘स्तरीय’ बनेको दाबी समेत गरे । उनले भने, ‘फिल्ममा सबैको काम दमदार छ, शूटिङमा पनि हामीले उत्तिकै दुःख गरेका छौँ, निर्देशकको काम हामीले सोचेको भन्दा धेरै माथिल्लो लेभलको रहेछ ।’

यो चलचित्रका निर्देशक गोविन्द सिंह भण्डारी हुन् । फिल्ममा कथा, पटकथा र संवाद पनि निर्देशक भण्डारीकै छ ।

चलचित्रमा रणवीरको भूमिका सुशील सिटौलाले निभाएका छन् । यस्तै यही फिल्ममार्फत सुभेच्छा खड्का र सुपुष्पा भट्टले फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । चलचित्रमा यी शीर्ष कलाकारका अतिरिक्त हरिहर शर्मा, टीका पहारी, रवि गिरी, नरेश पौडेल, भोलाराज सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशकको दाबीअनुसार यो फिल्म अहिले चल्दै आएको ट्रेन्डभन्दा बिल्कुलै फरक ट्रेन्डको फिल्म हो ।

चलचित्रमा गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीको लगानी, चन्द्र पन्तको एक्सन, कृष्ण भण्डारीको सम्पादन तथा महेश पौडेलको डीओपी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?