भारतको कुम्भ मेलामा नेपाली झण्डा

काठमाडौं । प्रत्येक १२ वर्षमा लाग्ने कुम्भ मेलामा नेपालको झण्डा फहराएको छ । साथै मेलामा नेपालीहरुलाई निःशुल्क भोजन र आवासको प्रबन्ध समेत गरिएको छ । 

यसपटक भारतको उत्तरप्रदेश राज्यस्थित प्रयागराज (ईलावादमा) प्रत्येक १२ वर्षमा लाग्ने कुम्भ मेला माघ १ गतेदेखि शुरु भएको हो । गंगा, यमुना र सरस्वतीको संगम स्थल मानिने प्रयागराजमा यसपटक नेपालीको पनि छुट्टै उपस्थिति देखियो । 

नेपालका एकमात्र महामण्डलेश्वर आत्मनन्द गिरिले नेपाली झण्डा फहराउनुका साथै नेपालीलाई निःशुल्क भोजन र आवासको प्रबन्ध गरेका छन् । प्रयागराजको पञ्चायती अखडा श्री निरञ्जनीको सेक्टर १६ को काली सडक, शास्त्री पुलको मुनि व्यवस्था गरिएको छ । मंगलवार नै नेपालका एकमात्र महामण्डलेश्वर आत्मानन्द गिरिले शाही स्नान समेत गरेका छन् ।

मेला भर्न आउनेहरूलाई बस्नका नदीको किनारमा पाल टाँगेर एउटा विशाल सुविधासम्पन्न नगर स्थापना गरिएको छ । मेला आयोजनाका लागि २८ अर्ब भारतीय रुपैयाँ खर्च हुनेछ । भारतको राजधानी दिल्लीबाट एक घण्टाभन्दा कम समयमै मेला स्थलमा पुग्न सकिने गरी नयाँ विमानस्थलसमेत निर्माण गरिएको छ ।

पाँच लाखभन्दा बढी गाडीहरू रोक्न मिल्नेगरी ठूला पार्किङ क्षेत्रहरूको निर्माण गरिएको देखिन्छ । पाँच हजार कर्मचारीहरू अन्यत्रबाट व्यवस्था गरिएको छ । मेलाको थप व्यवस्थापनको लागि ३० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?