राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुद्वारा तालाबन्दी

घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । 

पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलनरत कर्मचारीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् । 

बुधवार बिहान ७ः३० बजे कर्मचारी संघर्ष समितिको आहृवानमा कर्मचारीहरुले प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै प्रशासनिक कक्षमा तालाबन्दी गरेका छन् ।

त्यस्तै माघ ३ गतेदेखि आन्दोलनरत कर्मचारीहरुले इमर्जेन्सी, प्रस्तूतिबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । 

साविकको राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिमा कार्यरत कर्मचारीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्नुपर्ने, करार सेवाका कर्मचारी र चिकित्सकलाई हटाउन नपाइने, साउनदेखि रोकिएको तलब दिनुपर्ने लगायतका आठ बुँदे माग राखेर कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?