महिला टी-ट्वान्टी क्रिकेट : नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । नेपाल समूह ‘ए’ को विजेता बन्दै महिला टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आज ‘बुधवार’ भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । 

थाइल्याण्डले दिएको २० रनको सामान्य लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा मात्र १ विकेट गुमाउँदै पुरा ग¥यो । नेपालका लागि ममता कुमारी चौधरीले ८ रन जोडिन् । त्यस्तै नेरी थापाले नटआउट ५ तथा डोली भट्टले २ रन बनाइन् । 

बैंकक मैदानमा यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको थाइल्याण्डले १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १९ रनको योगफल तयार पारेको थियो । 

थाइल्याण्डका लागि थान्चानोक फोप्लुकले ४ रन तथा वार्ली सिनसोङले ३ रन जोडिनु् । ७ रन भने थाइल्याण्डले अतिरिक्त रन पाएको थियो । थाइल्याण्डको पारी ध्वस्त पार्ने क्रममा नेपालका आरती बिडारीले ३  इन्दु बर्मा र सरिता मगरले समान २-२ विकेट लिइन् ।

त्यस्तै कप्तान रुवीना क्षेत्री, सिता रानामगर र सोनु खड्काले एक-एक विकेट लिइन् । यो जितसँगै नेपालले चारै खेलमा अपराजित रहँदै अघिल्लो चरणको यात्रा तय गरेको हो ।

नेपालले ४ खेलबाट ८ अंक बनाएको छ । त्यस्तै संयुक्त अरब इमिरेट्स ‘युएई’ भने उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । युएईले ६ अंक जोड्यो । थाइल्याण्ड, मलेसिया र चीन भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । 

अब नेपालले यहि शुक्रवार सेमिफाइनल खेलमा समूह ‘बी’ को उपविजेता इन्डोनेशियाको सामना गर्नेछ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?