कान नसुन्ने राष्ट्रिय क्रिकेट खेलाडी र उनकी ‘एसएलसी टपर’ श्रीमती

काठमाडौं । ३ कक्षामा पढ्दै गर्दा रिवेशले शिखालाई मन पराए । उमेरमा रिवेशभन्दा कान्छी भएपनि पढाइमा शिखा सिनियर थिइन् । दुवै नक्साल बहिरा स्कुलमा पढ्थे ।

आफ्नो मनमा अङ्कुरित मायालाई रिवेशले बोलीमार्फत् व्यक्त गर्न सम्भव थिएन । दुवैजना जन्मजात कान नसुन्ने भएकाले बोल्न सक्दैनथे त्यसैले एकमात्र विकल्प थियो, चिठ्ठी । तर, चिठ्ठी लेख्ने आँट रिवेशले गरेनन् । प्रेमपत्र लेख्दा आफ्ना धेरै साथीहरु प्रिन्सिपलको अफिससम्म पुगेको कुरा उनले बिर्सिएका थिएनन् । 

परिणामस्वरुप लामो समयसम्म रिवेशको मनको कुरा मनमै रह्यो । 

यता शिखाले भने रिवेशले आफूलाई मनपराउने छनक पाइसकेकी थिइन् । तर, आफूले थाहा पाइसकेको कुरा रिवेशलाई थाहा दिएकी थिइनन् । कुनै रोमान्टिक सिनेमाको कथाजस्तै एसएलसीसम्म उनीहरुबीच यस्तै लुकामारीको खेल चलिरह्यो । एकअर्कालाई नबताइ आँखाबाटै उनीहरुले माया साटिरहे । 

गन्तव्य बेग्लै थियो त्यसैले एसएलसीपछि उनीहरुको बाटो अलग्गियो । दुवैजना आआफ्नो करियर बनाउनतर्फ लागे । यद्यपी, उनीहरु एक अर्काको सम्पर्कमा भने रहिरहे असल साथीका रुपमा ।

यही क्रममा रिवेशले आफ्नो मित्रतालाई एक लेभल माथि लग्नैपर्छ भन्ने सोचे । बाल्यकालदेखिको प्रेमलाई गुमाउने मुडमा उनी पटक्कै थिएनन् । उनले शिखासामू प्रेमप्रस्ताव राखे । शिखालाई पनि यत्तिको मान्छेसँग जीवनभर खुसी रहन्छु भन्ने अनुभूति भयो । उनले प्रस्ताव स्वीकारिन् । दुवैजनाको परिवारले यो सम्बन्धलाई हाँसीखुसी ‘विवाह बन्धन’ मा बाँधिदिए ।

अहिले रिवेश र शिखाको विवाह भएको ठ्याक्कै ६ वर्ष भयो । जन्मजात कान नसुन्ने यी दम्पत्तीले आफ्नो स्कुलदेखिको प्रेमलाई विवाहमा परिणत गरीछाडे । 

जन्मेदेखि कुनै प्रकारको आवाज नसुनेकाले उनीहरु बोल्न समेत सक्दैनन् । त्यसैले सांकेतिक भाषामै कुराकानी गर्छन् । 

शिखा त आफूजस्तै श्रव्यशक्ति नभएकाहरुलाई सांकेतिक भाषाको प्रशिक्षणसमेत दिन्छिन् । उनलाई कलामा निकै रुचि छ त्यसैले फुर्सद भयो कि कुचि लिएर बसिहाल्छिन् क्यानभासमा चित्र कोर्न । यही रुचिलाई मध्यनजर गर्दै उनले एसएलसीपछि फाइन आर्टस् पढेको उनकी आमा नन्दिका प्रधानले बताइन् । ‘सानैदेखि शिखा एकदमै ट्यालेन्ट थिइ र त एसएलसीमा टप गरी’, नन्दिका अगाडि थप्छिन्, ‘त्यसैले सबैले नपढाउने सल्लाह दिएपनि हामीले उसलाई पढायौं ।’

शिखा आफ्नो ब्याचकी एसएलसी टपर हुन् (कान नसुन्ने विद्यार्थीबाट) । शिखाले कोरेका चित्रहरु विदेशमा समेत प्रदर्शन भएका छन् । अहिले उनी चित्रकलालाई नै आफ्नो पेशा बनाउने योजनामा छिन् ।

त्यस्तै रिवेश ‘देउराली जनता फार्मेसेउटिकल्स प्रालि’मा जागिरे छन् । बिहान उठेर घरका सामान्य काम गरेर उनी अफिस जान्छन् । अफिससम्म पुग्न उनलाई कसैको सहायता चाहिँदैन । बाइक, कार मज्जाले हाँक्छन् उनी । यही वर्ष मात्र बाइकमै रारा ताल पुगेर आए । बाइक कुदाउन एकदमै मनपराउने रिवेशले बेलाबेला ‘रोड ट्रिप’ मा गइरहने सङ्केत गरे ।

बाइक राइडसँगै खेल उनको अर्को रुचि हो ।

रिवेश राष्ट्रिय बहिरा क्रिकेट टिममा पनि छन् । सन् २०१८ मा भारतको हरियाणामा सम्पन्न बहिराहरुको आइसीसी टि२० विश्व कपमा उनले नेपाली टोलीको कप्तानी सम्हालेका थिए ।

पर्याप्त अभ्यास नभइ प्रतिस्पर्धामा उत्रिएकाले उपाधि जित्न नसके पनि अन्तर्राष्ट्रिय मैदानमा देशको झण्डा फर्फराउन पाउँदा आफू सन्तुष्ट भएको उनी बताउँछन् । 

रिवेश क्रिकेट मात्र होइन फुटबल, ब्याडमिन्टन पनि खेल्छन् । उनको लाइफस्टाइल शारीरिक अशक्तता भएकालाई मात्र होइन कति सपाङ्गहरुलाई समेत प्रेरित गर्ने किसिमको छ । सशक्त मानिसले नचढेका डाँडा उनले छिचोलेका छन्, घुम्तीहरु पार गरेका छन्, जीवनलाई ‘एड्भेन्चरस’ बनाएका छन् । 

दिनभरि जेजस्तो काममा व्यस्त भएपनि कामबाट फर्किएपछिको समय यी दम्पत्ती सँगै बसेर बिताउँछन् ।  

उनीहरुकी सानी छोरी पनि छिन्, आहना श्रेष्ठ । आहाना असाध्यै चञ्चले छिन् । मामुलाई दङ्ग्याउने, गुडियाहरुसँग खेल्ने, साइकल कुदाउने एकछिन सञ्चले बस्दिनन् । तर, दुर्भाग्यवश सामान्य बच्चाजस्तै कान भने सुन्दिनन् उनी । आफ्ना मामुबाबाजस्तै उनमा जन्मदै श्रव्यशक्ति थिएन ।

यद्यपी, घरमा सबैले साङ्केतिक भाषामै कुराकानी गर्ने भएकाले उनले सोही भाषामा कुराकानी गर्न सिकिसकिन् । अहिले आहाना बहिरा स्कुलमा पढ्छिन् तर, शिखा चाहन्छिन् उनकी छोरी सामान्य बालबालिका पढ्ने स्कुलमै पढोस्, उसले सबैथोक सिकोस् जुन सामान्य बालबालिकाले सिक्न पाएका छन् । नेपालमा अपाङ्गहरुले पढ्ने स्कुल त्यति व्यवस्थित नभएकाले पनि श्रेष्ठ दम्पत्तीले छोरीलाई राम्रो पढाइ हुने स्कुलमा भर्ना गर्न चाहेको उनीहरुले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?