‘टुटल’, ‘पठाओ’जस्ता सुविधा काठमाडौँलाई अरु पनि चाहिन्छ

काठमाडौं । मैले अहिलेसम्म टुटलको सुविधा लिएको छैन । यसको मोबाइल एपबारेमा थाहा पनि थिएन । साथीहरु भने बेलाबेला टुटलको माध्यमबाट आफ्नो गन्तव्यमा पुगेका रहेछन् । एक साथीले भन्दै थिए – ‘अहिलेसम्म टुटलबाट सवारी चढ्नुभएको छैन र? ट्याक्सीभन्दा सस्तो पनि पर्छ, सजिलो पनि छ ।’

ट्याक्सी चढ्दा ‘बार्गेनिङ’ गरेर पनि ‘महंगो’ भाडा तिर्नुपरेको मजस्तालाई यो सुविधा सुन्दै नौलो र आर्कषक लाग्यो । नलागोस् पनि किन? बसमा जस्तो कोचिनु पनि नपर्ने, ट्याक्सीभन्दा सस्तो भाडा तिरे पुग्ने ।

सुन्धाराबाट जमल हुँदै लैनचौर/लाजिम्पाटतिर जाने यात्रु पहिले जमलको बस बिसौनीमा बस चढ्न पाउँथे । पुस १ गतेदेखि सरकारले टुँडिखेल क्षेत्रमा जाम भएको भन्दै भाडाका गाडी रोक्न नपाइने बनायो । जमल एरियामा काम गरेर फर्किन प–यो भने केही दूरी हिँड्नुपर्ने भएको छ । जमलबाट लैनचौर पनि नजिक पर्दैन । सुन्धारा पनि नजिक पर्दैन । अरु स्थानमा राज्यले नै रोक्न नपाइने बनाएको छ । यसलाई पनि यात्रुले सहेका छन् किनकि, उनीहरु जामबाट पनि उत्तिकै आजित भएका थिए ।

जमलमा रोक्न नपाइने नियमले जाम घटेको भन्दा पनि झन् बढेको हो कि भन्ने लाग्छ ।

विकल्पमा कहिलेकाहीँ उनीहरु ट्याक्सी चढ्न खोज्लान् । तर, ट्याक्सीहरुले भित्री सल्लाह गरेझैँ एकनासको मूल्य भन्छन् । ‘हाउ मच?’ मा कानून लाग्छ, मिटरमा हिँड्नुपर्छ भन्ने ती ट्याक्सी चालकलाई थाहा छ । तर, उनीहरु ‘कति दिने हो?’ भन्न छोड्दैनन् । मिटर बिग्रेकोदेखि उक्त रुटमा नजाने भन्ने अनेक बहाना बनाउँछन् ।

यात्रुले यो प्रवृत्तिलाई जबरजस्ती स्वीकार्नुपरेको छ भने, सबै ट्याक्सी यस्तै हुन् । महंगो पैसा नतिरेसम्म ट्याक्सीवालाले ट्याक्सी स्टार्ट गर्दैनन् । अरु विकल्प पनि त हुनुप–यो ।

अपवादमा केही ट्याक्सी चालकहरु भने बुझ्ने हुन्छन् । नियम मान्छन् । मिटरमा जान झर्को मान्दैनन् । फुटपाथमा बेच्न राखिएको सामान किन्नझैँ बार्गेनिङ गर्नुपर्दैन उनीहरुको ट्याक्सी चढ्दा ।

ट्याक्सी त ‘हुने वर्ग’ले चढ्ने साधन भयो । सबैका लागि यो सुविधा सम्भव हुँदैन । कहिलेकाहीँ आपत् पर्दा, रात पर्दा, सामानको भारी हुँदाबाहेक अरु बेला ट्याक्सी नचढे पनि केही फरक पर्दैन हामी मध्यमवर्गीय यात्रुलाई ।

तर, लोकल बस चढ्न सजिलो छैन भन्ने सबैलाई थाहा छ ।

अब एकैछिन ‘लोकल बस’ का कुरा गरौँ ।

काठमाडौं उपत्यकाका केही रुटमा बाहेक अरु ठाउँमा जाने बसको हालत कस्तो हुन्छ भन्नेबारे राम्रो अनुभव लिन आफैले बस चढ्दा राम्रो हुन्छ । आम साधारणका लागि त काठमाडौंमा सार्वजनिक साधन चढ्नुको सास्ती राम्रोसँग थाहा छ । जसरी नेपालको नीति लापरवाहीमा चलिरहेको छ, त्यस्तै हो सवारी साधनको अवस्था पनि ।

काठमाडौंका लोकल सवारीले यात्रु नकोचिएसम्म, जाडो महिनामा पनि यात्रुको पसिना ननिस्केसम्म गाडी कुदाउँदैनन् । सह–चालकले यात्रु बोलाउँछ । भित्र गुन्द्रुकझैँ कोच्छ । यात्रु विवश भएर कोचिन्छन् । किनकि, अर्को खाली बस आउला भन्ने हुँदैन । अर्कोले पनि उसैगरी कोच्छ । त्यही रीति दोहो–याउँछ ।

काठमाडौंमा यात्रुको अवस्था कति छटपटीको छ भन्ने बारेमा खासै भनिरहनुपर्छ जस्तो लाग्दैन । दशकौँदेखि खाँदिएका यात्रुहरुले बाध्यतामा जोखिमपूर्ण यात्रा गर्न तयार छन् । पाकेटमारको जोखिम, सह–चालकको हप्काइजस्ता सामान्य समस्यालाई त चटनीका रुपमा ग्रहण गरौँ ।

अर्कातिर काठमाडौंमा सुखसँग साइकल चढ्ने वातावरण पनि छैन । कुन गाडीले कुन रन्कोमा फ्याट्ट पछाडिबाट हान्छ भन्ने जोखिम मोलेरै गन्तव्यमा पुग्नुपर्ने हुन्छ । हिँडेर पनि साध्य छैन – एउटा त धूलोको जोखिम उत्तिकै छ, अर्कातिर काठमाडौं ठूलो छ । एउटा कुनामा बसेर अर्को कुनामा जागीर खानुपर्ने अवस्था छ यहाँ ।

काठमाडौं पूरै स्वार्थी छ ।

हामीले यो पनि भुलेका छैनौँ कि, बहुमतको सरकारले काठमाडौंमा मोनोरेल र मेट्रोरेल भित्र्याउँदै छ । सपनामा वर्षौँ पहिले भित्रिए पनि आँखा अगाडि कहिले आउने हुन्, त्यसका लागि हामीले प्रतीक्षा गर्नैपर्ने हुन्छ । यदि राज्यले रेल नकुदुञ्जेल कोचिएरै लोकल बस चढ, ठगिएरै ट्याक्सी चढ, ज्यानको जोखिम लिएरै साइकल कुदाऊ, त्यति पनि सक्दैनौ भने हिँड भन्छ भने हामीसँग विकल्प छैन ।

होइन भने टुटल, पठाओजस्ता अरु दजर्नौं सुविधा काठमाडौंलाई चाहिएको छ । यसलाई सरकारले विकल्प बनाउनुपर्छ ।

नेपालमै केही गर्न खोज्नेलाई हतोत्साही गर्ने कि, गर्न खोज्ने एक नेपालीलाई सचेत गराउँदै सम्भावित बाटो देखाउने भन्नेमा राज्य नै जिम्मेवारी हुनुपर्छ । राज्यले चासो देखाएन भने त्यो विषय व्यक्तिगत मुद्दा बन्न जान्छ ।

अहिले राज्यले ‘पठाओ’ र ‘टुटल’ मा जुन बहाना बनाएर औँला तेस्र्याएको छ, त्यो किन पनि निन्दनीय छ भने हामी एक्काइसौँ शदाब्दीमा समयको स्पिडका कुदिरहेका छौँ । यस्ता सर्भिसका कारण सयौँले इज्जतका साथ जागीर पाएका छन् । भोलिका दिनमा दैनिक हजारौँ यात्रुलाई प्रत्यक्ष फाइदा पुग्छ ।

राज्यले नेपालीको 'राम्रो' कन्सेप्टमाथि कैँची लगाउँछ र सीधै बन्देज गरिदिन्छ भने राज्यको कुनै औचित्य छैन । जनताका कन्सेप्ट र धारणा पनि नेपालकै सम्पत्ति हुन् । ती सम्पत्तिले भोलि विश्वव्यापीकरण हुने मौका पाउन सक्छन् । एउटा नयाँ क्रान्ति ल्याउन सक्छन् ।

कानूनतः कोही पनि माथि उठ्न सक्दैन । तर कन्सेप्ट र सिर्जनात्मक हिसाबले नयाँ प्रयोग र आम साधारणको सकारात्मक सुविधालाई सरकारले कानून लगाउनुभन्दा यसको विकल्प खोज्नुपर्छ । किनकि, काठमाडौंमा सवारी चढ्ने यात्रुले सार्वजनिक यातायातको ज्यादती निकै लामो समयदेखि खेपिरहेका छन् । अहिलेको अवस्थामा काठमाडौं उपत्यकामा टुटल र पठाओजस्ता मोबाइल एप्सका भरमा सुविधा दिने सर्भिस प्रोभाइडरको आवश्यक छ ।

भोलिका दिनमा टुटल या पठाओजस्ता एप्सले आफूले कानूनअनुसार समिति बनाएर प्रयोग गरुन् या त सरकारले यस्ता कन्सेप्टलाई नयाँ प्रयोग गरोस् । विकल्प जे भए पनि सरकारले यस्ता सर्भिसलाई रोक्ने कुनै पनि हालतमा विकल्प हुन सक्दैन । किनकि, सुविधा प्रत्यक्ष जनताका लागि हो भने नयाँ कन्सेप्ट राज्यको पनि सम्पत्ति हो ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?