फेडेरर अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश, फ्रान्सेली मोन्फिल्स बाहिरिए

एजेन्सी । स्विस रोजर फेडेरर अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । 

बुधवार भएको पुरुष एकलतर्फको दोस्रो चरणको खेलमा फेडेररले बेलायती ड्यान इभान्सलाई ३-० को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका हुन् । फेडेररले खेलको पहिलो सेट ७-६, दोस्रो सेट ७-६ र अन्तिम सेट ६-३ ले आफ्नो पक्षमा पारेका थिए ।

२१ औँ पटक ग्राण्डस्लामको उपाधि जित्ने दाउमा रहेको फेडेररलाई पहिलो र दोस्रो सेटमा इभान्सले कडा टक्कर दिएका थिए । अब फेडेररले तेस्रो चरणको खेलमा अमेरिकन टाइलोर फ्रित्जको सामना गर्नेछन् । 

त्यस्तै बुधवार नै भएको अर्को खेलमा फ्रान्सेली गेइल मोन्फिल्स अमेरिकन टाइलोर फ्रित्जसँग ३-१ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

मोन्फिल्स फ्रित्जसँग ६-३, ६-७, ७-६ र ७-६ को सेटमा हराए । बुधवार नै भएका अन्य खेलहरुमा स्पेनी फर्नान्डो भडास्को, क्रोशियाका मारिन सिलिक, चेक रिपब्लिकका टोमास बर्डिच र इटालीका आन्द्रेस सेप्पी आ-आफ्नो खेलमा जीत हात पार्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?