घोडेपानी–घान्द्रुक पदमार्गमा जाने पर्यटकको संख्यामा वृद्धि, ६५ हजार विदेशीले गरे भ्रमण

म्याग्दी । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् ।

सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी–घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ इलाका कार्यालय घान्द्रुकले जनाएको छ । 

वीरेठाँटीमा रहेको चेकपोष्टको तथ्याङ्ककाअनुसार सन् २०१७ को तुलनामा २०१८ मा सो क्षेत्रमा एक हजार ५ सय ३९ बढी पर्यटक भ्रमणमा आएका एक्याप घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलले जानकारी दिए ।

अधिकृत कुइँकेलका अनुसार सन् २०१७ मा ६३ हजार ५ सय ३७, सन् २०१६ मा ४७ हजार २ सय ७४, सन् २०१५ मा ३६ हजार र २०१४ मा ४२ हजार पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । 

वीरेठाँटी, शिख र छोमरोङ चेकपोष्टमार्फत घोडेपानी, घान्द्रुक क्षेत्रको पदयात्रामा आउने र फर्कने पर्यटकको विवरणसहितको तथ्याङ्क राख्ने गरिन्छ । म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबिसी क्याम्प, घम्पुसलगायत पर्यटकीयस्थल यहाँको आकर्षण हो । 

वीरेठाँटीबाट भित्रिएका आधा जसो पर्यटक छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर ‘एबिसी’ पुग्ने रेका छन् । सन् २०१८ मा ३३ हजार ६ सय ७९ पर्यटक छोमरोङ हुँदै एबिसी पदयात्रामा गएका थिए । छोमरोङ हुँदै एबिसी पदयात्रामा जाने पर्यटकको सङ्ख्या २०१७ मा ३१ हजार ६ सय ८९ थियो ।

मगर, गुरुङ बस्ती, उनीहरुको कला, संस्कृति जीवनशैली, हिमशृङ्खला, सूर्योदय, लालीगुराँसको जङ्गल, एकान्त वातावरण यस पदमार्गको मुख्य विशेषता हो । घान्द्रुक घोडेपानी क्षेत्रमा चिनियाँ, फ्रेन्च, कोरियन र मलेसियन पर्यटक बढी मात्रामा आउने गरेका छन् । 

म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लालाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति २ सय र अन्य मुलुककाले प्रतिव्यक्ति  दुई हजारका दरले सरकारलाई शुल्क तिर्दै आएका थिए ।

सरकारले गत कात्तिकमा राजपत्रमा सूचना प्रकाशन गरेर नेपालीलाई पनि प्रतिव्यक्ति एक सयका दरले प्रवेश शुल्क लिने र विदेशीको प्रवेश शुल्क वृद्धि गरेकोमा समुदाय तथा पर्यटन व्यवसायीले विरोध जनाएका छन् । पछिल्लो व्यवस्थाअनुसार सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति तीन हजार शुल्क निर्धारण गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?