दुई खेलाडीलाई कारवाहीको माग

काठमाडौं । थ्री स्टार क्लबले दुई विदेशी खेलाडीलाई आचरणविरुद्धको काम गरेको भन्दै कारवाहीका लागि अखिल नेपाल फुटबल सङ्घ ‘एन्फामा’ मा निवेदन दिएको छ । 

लामो समयदेखि थ्रीस्टारमा रहेका विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टीनलाई कारवाहीको माग गर्दै एन्फामा निवेदन दिएको क्लबले जनाएको छ । हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको दौरान अनुशासनविपरीत काम गरेको भन्दै थ्री स्टारले कारवाहीको माग गरेको हो ।

खेल्ने समयमा टीममा नआएका र पुरस्कार वितरणलगायतका कार्यक्रममा समेत उपस्थित नभएको बताउँदै क्लबले कारवाहीको सिफारिश गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । 

नाइजेरियन खेलाडी पिटर लामो समययता थ्री स्टारको सेन्टर डिफेन्डसको भूमिकामा रहँदै आएका छन् भने मार्टिन मुख्य स्ट्राइकरका रुपमा छन् । लिगको समय पिटर र मार्टिनले मोफसलका प्रतियोगितामा अन्य क्लबबाट सहभागिता जनाएको प्रमाण प्राप्त भएपछि थ्री स्टार दुवै खेलाडीलाई कारवाही गर्ने निर्णयमा पुगेको हो ।

छानविन गर्न अनुशासन कमिटीलाई निर्देशन दिइएको र केही दिनभित्र निर्णय हुने महासचिव तुलाधरले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?