अस्ट्रेलियन ओपन टेनिस : स्भीत्लिना र पिलेस्कोभा तेस्रो चरणमा प्रवेश

एजेन्सी । युक्रेनकी एलिना स्भीत्लिना र चेक रिपब्लिककी क्यारोलिना पिलेस्कोभा जारी अस्ट्रेलियन ओपन टेनिस च्याम्पियनसीपको तेस्रो चरणमा प्रवेश गरेका छन् । 

रोड लाभेर एरिनामा बिहीवार सम्पन्न भएको महिला एकलतर्फको दोस्रो चरणको खेलमा युक्रेनकी स्भीत्लिनाले स्लोभाकियाकी भिक्टोरिया कुज्मोभालाई २-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकी हुन् ।

छैटो वरियताकी स्भीत्लिनाले कुज्मोभालाई खेलको पहिलो सेटमा ६-४ र दोस्रो सेटमा ६-१ ले पराजित गरेकी थिइन् । गत वर्षको यसै प्रतियोगिताको क्वाटरफाइनलसम्म पुगेकी २४ वर्षिया स्भीत्लिनाले अब तेस्रो चरणको खेलमा चेक रिपब्लिककी क्रिस्टिना पिलेस्कोभा र चिनकी झाङ सुवाईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन । 

त्यस्तै बिहीवार नै मेलबर्न एरिनामा भएको अर्को खेलमा सातौ वरियताकी क्यारोलिना पिलेस्कोभाले अमेरिकी माडिसन ब्रेङगललाई ४-६, ६-३ र ६-० को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरिन् ।  

उनले तेस्रो चरणको खेलमा बेल्जियमकी एलिस मेर्टेन्ससँग भिड्नेछन् । त्यस्तै लात्भियाकी अनास्तासिजा सेभास्तोभा पनि आफ्नो खेलमा जीत हात पादै तेस्रो चरणमा प्रवेश गर्न सफल भइन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?