डा. केसीको स्वास्थ्यमा ९ वटा समस्या, तत्कालै आइसियूमा सार्नुपर्ने

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलामबाट १६ औँ अनसन शुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य थप जटिल हुनुका साथै विभिन्न ९ वटा समस्या देखिएको छ । 

बुधवारबाट धरास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका विशेषज्ञहरुको टोलीले गरेको परीक्षणमा डा. केसीको स्वास्थ्यमा विभिन्न ९ वटा समस्या देखिएको छ । 

डा. केसीलाई तत्कालै आइसियू भएको अस्पतालमा सार्नुपर्ने चिकित्सकको सुझाव दिएको छ । 

पछिल्लो परीक्षण अनुसार डा. केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भएको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको डा विजेन्द्र कुमार शाहले जानकारी दिए । 

१५ औँ सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता विपरित चिकित्सा शिक्षा ऐन संशोधन भएको भन्दै डा. केसी गत पुस २५ गतेदेखि इलामबाट १६ औँ अनसन शुरु गरेका हुन् । 

उनले सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रक्रिया अघि नबढेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना शुरु नभएको लगायत मागमा सरकार गम्भीर नभएको निष्कर्ष निकालेका हुन् ।

साथै डा. केसीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्ने, सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग पनि अघि सारेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?