हुम्लामा २६ किलोमिटर ग्रामीण सडकको निर्माण, हेलिकप्टरबाट ढुवानी गरिएका निजी गाडी सञ्चालनमा

हुम्ला । जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् ।

सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना तय गरेरै सडकको निर्माण गरेका हुन् । सडक सञ्जाललाई गाउँपालिकाको विकासका लागि पहिलो प्राथमिकतामा राखेको सिमकोट गाउँपालिकाले गत वर्ष पाँच किमी निर्माण गरेर हाल सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए । 

अहिले निर्माण भएको सडकमा हेलिकप्टरबाट ढुवानी गरिएका निजी गाडी सञ्चालनमा आएको अधिकृत दर्जीले बताए । यसरी गत वर्ष निर्माण भएका सडकमा सिमकोट बुराउसे बरगाउँ खण्ड र सिमकोट डाँडाफया लिङ्करोड रहेको उनले जानकारी दिए ।

 यो सँगै सिमकोट बजारमा पनि सडक चौडा गर्ने कार्य सम्पन्न भएको दर्जीले बताए । 

यस आर्थिक वर्षमा सात किमी ग्रामीण सडक निर्माण गर्ने कार्यक्रम सिमकोट गाउँपालिकाले गरेको छ । गत आर्थिक वर्ष नाम्खा गाउँपालिकाले पनि सात किमी ग्रामीण सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर नेपालीले बताए । यो वर्ष नाम्खा गाउँपालिकाले यस्ता ग्रामीण ‘लिङ्करोड’लाई प्राथमिकतामा राखेको अधिकृत नेपालीले बताए । 

यस आर्थिक वर्षमा निर्माण भएका सडकमा गाउँपालिकाले आफ्नै सवारी गुडाउने लक्ष्य लिएअनुसार सवारी खरिद प्रक्रिया पनि अगाडि बढाएको नाम्खा गाउँपालिका अधिकृत नेपालीको भनाइ छ । गत आर्थिक वर्षमा सात किमी ग्रामीण सडक निर्माण गर्ने अर्को गाउँपालिका खार्पुनाथ रहेको अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

यसमा खार्पुदुर्पा हुँदै चङ्खेली र नल्नलेख सडक निर्माणकार्य भइरहेको अध्यक्ष रावले बताए ।  

जिल्लाकै दक्षिण क्षेत्रको ताँजाकोट गाउँपालिकाले पनि गत आर्थिक वर्षमा पाँच किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए । 

जिल्लाका सात गाउँपालिकामध्ये तीन चङ्खेली, कर्सेगाड र अदानचुली गाउँपालिकाले गत वर्ष सडक निमार्णमा काम नगरेको भए पनि यो वर्ष विस्तृत परियोजना प्रतिवेदन तयार गरेर ग्रामीण सडक निर्माणकार्यलाई प्राथमिता दिने जनाएका छन् जसमा चङ्खेलीले सात, सर्केगाडले १४ किमी र अदानचुलीले पाँच किमी सकड निर्माणकार्य गर्ने भएका छन् ।

यस्तै अन्य चार गाउँपालिकाले केन्द्र र वडा कार्यालय जोड्ने सडक निर्माणका योजना तय गर्ने जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?