महिला टी-ट्वान्टी क्रिकेट : फाइनल प्रवेशको लागि नेपालले इन्डोनेशियाको सामना गर्ने

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले भोली ‘शुक्रवार’ इन्डोनेशियाको सामना गर्दैछ ।

बैंककको ट्रेडथाई क्रिकेट मैदानमा हुने खेलमा नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इन्डोनेशियाको प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इन्डोनेशिया भने समूह ‘बी’ को उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो । 

नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स ‘युएई’ र चौथो तथा समूह चरणको अन्तिम खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको थियो । 

राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोलीले करीब दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला प्रतियोगिता खेलेको हो । यसअघि नेपाली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आइसिसी टी–२० विश्वकपको एशिया क्षेत्रको क्वालिफायर खेलेको थियो । 

रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा सीता रानामगर ‘उपकप्तान’, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् । 

त्यस्तै शुक्रवार नै हुने अर्को सेमिफाइन खेलमा समूह ‘ए’ को उपविजेता युएई र समूह ‘बी’ को विजेता थाइल्याण्ड भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?