ग्रीक प्रधानमन्त्री सिप्रास विरुद्धको अविश्वास प्रस्ताव पारित भएन

एथेन्स । मेसेडोनियाको नाम परिवर्तनको विषयलाई लिएर ग्रिसका प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । आधिकारिक विवरणमा संसदमा कूल उपस्थित २ सय ९९ जना सांसदमध्ये प्रधानमन्त्री अलेक्सिस सिप्रासको पक्षमा १ सय ५१ जनाले मतदान गरेका थिए । 

मतदान पश्चात प्रधानमन्त्री सिप्रासले संवाददाताहरुसँग कुरा गर्दै संसदले ग्रीसमा राजनीतिक स्थायित्व कायम राख्न र ग्रीसको अन्तर्राष्ट्रिय विश्वसनीयता आर्जन गर्न सफल भएकामा आभार प्रकट गरे । 

प्रधानमन्त्री सिप्रासको अघिल्तिर अब छिमेकी मुलुक मेसेडोनियाको नाम सम्बन्धी विवादास्पद विधेयक संसदबाट पारित गराउनुपर्ने चुनौती छ । मेसेडोनियाको नामका बारेमा दुबै मुलुकमा विरोध भएको थियो । 

गत साता मेसेडोनियाका सांसदहरुले ग्रीससँग भएको एक सहमतिबमोजिम आफ्नो मुलुकको नाम परिवर्तन गरी “उत्तरी मेसेडोनिया गणतन्त्र” राख्न मतदान गरेका थिए । तर, उक्त नाम परिवर्तनलाई ग्रीसको संसदले पनि अनुमोदन गर्नुपर्नेछ । 

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री सिप्रासले सरकारको लक्ष्य नै संविधान संशोधन गर्ने, न्यूनतम ज्याला वृद्धि गर्ने तथा चर्चहरुको जग्गा विवाद सुल्झाउने रहेको बताए । नौ महिनापछि नै संसदको निर्वाचन हुन लागेकाले पनि अहिलेको अविश्वासको प्रस्ताव विफल हुँदा प्रधानमन्त्री सिप्रासलाई फाइदा पुग्ने अनुमान गरिएको छ । 

यद्यपी मेसेडोनिया सम्झौताका बारेमा ग्रीसको संसदमा मतदान हुने मिति तय भइसकेको छैन, तर प्रधानमन्त्री सिप्रासले जनवरी अघि नै उक्त कार्य गरिने बताएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?