संसदीय समिति बैठक : दुई राजदूत सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले फ्रान्स र थाइल्याण्डका राजदूतको नाम सर्वसम्मत रुपमा अनुमोद गरेको छ । 

बिहीवार बसेको सुनुवाई समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाललाई अनुमोदन गरेको हो ।

गत पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच देशका लागि राजदूत सिफारिस गरेको थियो । 

तर, पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन ।

त्यसैले सीधै सुनुवाई गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई बिहीवारको बैठकमा बोलाइएको थियो ।

यसैबीच बिहीवार नै सुनुवाई समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा फ्रान्सका लागि प्रस्तावित राजदूत दिपक अधिकारीले नेपाली विमान उडान फुकुवा गर्ने बताएका हुन् । 

अधिकारीले भने, ‘फ्रान्समा नेपाली विमान उड्न प्रतिबन्ध छ । त्यो हटाउन पहल गर्नेछु ।’

त्यस्तै बाँकी ३ जनाको सुनुवाई भने भोलि (शुक्रवार) गर्ने तयारी रहेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले बताए ।

परराष्ट्र सेवाबाट सरकारले स्वीटजरल्याण्डका लागि मणि भट्टराई, क्यानडाका लागि भ्रिगु ढुङ्गाना र कुवेतका लागि दुर्गा प्रसाद भण्डारीको नाम सिफारिस गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?