काठमाडौं– गोरुजुधाइ मेलाले प्रसिद्धि कमाएको नुवाकोटको तारकेश्वर गाउँपालिका–३ (साविकको तारुका ५) स्थित चन्दनीमा विगतका वर्षहरु झैं यो वर्षपनि माघेसक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भयो ।
२३ हल गोरु जुधाउनको लागि दर्ता भएकोमा माघेसक्रान्तिको दिन खेलकूदमन्त्री जगत विश्वकर्माको उपस्थितिमा २२ हल गोरु जुधाईयो ।
प्रतियोगिताका क्रममा छनौटमा परेका गोरुहरु एक घण्टा जुधे अनि छुट्टिए ।
त्यसपछि मेला सकियो ।
सबैलाई थाहा भएको जानकारी यति नै हो ।
तर धेरैलाई थाहा नभएको प्रसंग के हो भने तारुकाका किसानदेखि स्थानीय नेतासम्मको ‘जुधाइ’ जारी छ ।
गोरु जुधाईपछि दिइने पुरस्कारमा आयोजकले राजनीतिक रुप दिएको भन्दै स्थानीय केही किसानले पुरस्कार बहिस्कार गरे । त्यतिमात्रै होईन किसानहरुले आफूले पाएको प्रमाणपत्र समेत च्यातिदिए ।
पुरस्कार वितरणमा आयोजकले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै त्यसको विरोधमा आफूहरुले बुधबार गारकेश्वर गाउँपालिकास्थित वडा नम्बर २ को कार्यालय घेराउ गरेको समेत भएको थियो ।
उनले गोरु जुधाइको नाममा मनग्य अनुदान आउने गरेको भएपनि समितिले विजयी गोरुधनीलाई ६ हजारमात्रै पुरस्कार दिएको र त्यसमा पनि उत्कृष्ट गोरुको चयनका क्रममा राजनीतिक रङ दिने काम गरिएको किसानको आरोप छ ।
पुरस्कार माघ १ गते दिईएको थिएन । जितेका गोरुधनीलाई कति रुपैयाँ दिने भन्ने बारेमा पनि कुनै घोषणा गरिएको थिएन । समितिले भेदभावपूर्ण व्यवहार गरेको किसानले बताए ।
गारकेश्वर गाउँपालिकास्थित वडा नम्बर २ को कार्यालय घेराउसँगै धर्ना दिएपछि वडाध्यक्ष समर बहादुर आले, माघेसक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिव अधिकारीलगायत र किसानहरुबीच छलफल भएको थियो । छलफलपछि केहिले पुरस्कार लिए भने केहिले अस्वीकार गरे । केहि किसानले त प्रमाणपत्र नै च्यातिदिएका थिए ।
विजेता र उपविजेतालाई २० हजार र १५ हजार रकम दिनुपर्छ भन्ने किसानको मागमा सीमित आर्थिक स्रोतका कारण विजयी सहित उत्कृष्ट गोरु चयन भएका गोरुधनीलाई ७ हजार र उपविजेतालाई ५ हजार दिएको समितिले जनाएको छ ।
किसानले गोरु जुधाइको नाममा लाखौं उठाइएपनि न्यून पुरस्कार दिइएको, भेदभाव गरेको, विभेद भएकोले दुख लागेको बताए ।
नेकपा तारकेश्वर गाउँपालिकाका नेता राजेन्द्र न्यौपानेले सभ्य ढंगले गोरु जुधाई मेला सम्पन्न भएको भन्दै केही अब विवाद गरिरहनु जरुरी नरहेको बताए ।
तारकेश्वर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष समर बहादुर आलेले विजयी गोरुधनीलाई बुधबार पुरस्कार र प्रमाणपत्र वितरण गरिसकिएको भन्दै यसमा कुनै विवाद नभएको दाबी गरे ।
पुरस्कारमा विवाद भएपछि नुवाकोट–रसुवा पर्यटन समाजका महासचिव शिव अधिकारीले पर्यटन बोर्डबाट आउने रकम अव सिधै किसानलाई दिइने बताएका छन् । त्यसका लागि पहल भइरहेको उनको भनाइ छ ।
यसवर्ष गोरुजुधाइका लागि नुवाकोटको तारुकासहित बेत्रावती, पन्चकन्या र धादिङको लागि नेपाल पर्यटन बोर्डले रु २–२ लाख गरी ८ लाख बजेट निकासा गरेको सञ्चालक समितिका सदस्य दीपक महतले जानकारी दिए ।
स्थानिय कला र संस्कृति राष्ट्रिय महत्व र चासोको विषय बनिरहेका बेला बर्षभरी दुख गरेर गोरु तयार पार्ने किसानको लागि आएको बजेटमा राजनीतिक रंग दिनु आफैमा अमर्यादित भएको भन्दै सामाजिक सञ्जालमा समेत व्यंग्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया