जब चितामा सातवटा लाश हुरुरु जले….(भिडियोसहित)

पशुपति आर्यघाटमा हरेक दिन लाश जलाइन्छ ।

फरक यति हो कुनै दिन थोरै जल्छन् । कुनै दिन ज्यादा ।

जल्दै गरेका लाशको छेउमा कोही आफन्त सुकसुकाउँदै हुन्छन्, कोही डाँको छाडेर रोइरहेका हुन्छन् ।

***

आज पनि बागमतीको किनारमा उसैगरी लाश जलाइए ।

एकैसाथ सातवटा ।

अरुबेला जलाइने लाशभन्दा ती लाश यसकारण भिन्न थिए किनकी उनीहरुका छेउमा सुकसुकाउने आफन्त थिएनन् ।

लाश कुहिएका थिए ।

यी बेवारिसे लाश महिनौंदेखि काठमाडौं शिक्षण अस्पतालमा थन्किएर रहेका थिए । यस्ता ७ लाशलाई एकैसाथ विधिवत् रुपमा दाहसंस्कार गरे बिनयजंग बस्नेतले । लाशलाई उनले आफ्नै हातले चितासम्म पु¥याएर दागबत्ती दिएको दृश्य हेर्न ठूलै जमात भेला भएको थियो । केही पत्रकारहरु पनि । 

डुङ्डुङ्ती गन्हाउने ती लाशलाई सजिलैसँग जलाइदिए उनले ।

यसो गर्दा उनको मुहारमा छुट्टै खुसी देखियो । आफ्नो खुसीलाई उनले शब्द मार्फत् व्यक्त पनि गरे । भने, ‘आज म एकदमै खुसी छु,’ चिताबाट उडिरहेको धुवाँ हेर्दै थपे, ‘यो धुवाँ सँगसँगै उनीहरुको आत्मा मुक्त भएको छ ।’
जसका कोही छैनन् उसका भगवान हुन्छन् भनेझैं बेवारिसे लाशका निमित्त बिनय भगवान नै सावित भएका छन् ।

यो पनि पढ्नुहोस् : 
 बेवारिसे लाशको सतगद गर्ने एक नायक : विनय, 'जो लाशसँग प्रेम गर्छन्'

विगत ४ वर्षदेखि उनले सडकमा बेवारिसे रुपमा भेटिने देखि अस्पतालमा थन्किएका लाशहरुलाई समेत आफ्नै खर्चमा दाहसंस्कार गर्दै आएका छन् ।

आफ्नै छोराछोरीले समेत बाबुआमाको सद्गत गर्नबाट पछि हट्ने यो समयमा बिनय अपरिचितहरुको लाशलाई आफ्नै बाबुआमा सरह दागबत्ती दिन्छन् । यसो गर्न उनले कसैको अगाडि हात थापेका छैनन् बरु, आफ्नै घरजग्गा धितो राख्नुपरेको उनी बताउँछन् ।

‘घरजग्गा धितोमा राखेको छु, थाप्लोमा ऋण छ,’ विनय अगाडि थप्छन्, ‘तर केही छैन, ज्यान रहे ऋण त तिरिहालिन्छ नि’।

यद्यपी, जीवित मान्छेलाई गरिने सेवाका निमित्त बजेट छुट्याउने सरकारले मुर्दाहरुलाई नजरअन्दाज गरेको देख्दा उनी दुखमनाउ गर्छन् ।

हरेक लाशले विधिवत् र सम्मानजनक रुपमा सद्गत पाउनु उसको अधिकार भएको दाबी गर्ने विनय आगामी दिनमा आफ्नो सेवालाई झन् बढाउँदै लग्ने लोकपथलाई सुनाए । देशभरिका जुनसुकै ठाउँबाट पनि बेवारिसे लाश भएको खबर आएमा भ्याएसम्म त्यसको सद्गत गर्ने उनको योजना छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?