हलमा पत्तासाफ भएको ‘मेरी मामु’ लाई युट्युबमा सकारात्मक प्रतिक्रिया !

काठमाडौं । नेपाली फिल्मका दर्शकले कस्तो फिल्म रुचाउँछन् भने ठ्याक्कै बुझ्नै नसकिने अवस्था छ । केही समयअघि मात्र फिल्म ‘मेरी मामु’ हलमा रिलिज गरियो । उक्त फिल्मको प्रचार स्कूल–स्कूलमा पुगेर गरिएको थियो । देशका विभिन्न शहर पुगेर पनि फिल्मको प्रचार गरिएको थियो । तर फिल्म ठाडै घाटामा गयो ।

यम थापाको लेखन तथा निर्देशन रहेको यो फिल्मले निर्माता सन्तोष सेनलाई मात्र घाटा पारेन, निर्देशक थापाको करिअरलाई पनि ठाडो असर पा–यो ।

हलमा फ्लप भएको केही महिनामै युट्युबमा अपलोड गरिएको यो फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । कतिपय प्रयोगकर्ताले फिल्मले आफ्नो मन छोएको प्रतिक्रिया दिएका छन् ।

मायालु एस नामको प्रयोगकर्ताले मन छुने फिल्मले आँखाबाट आँसु खसायो भन्ने प्रतिक्रिया व्यक्त गरेका छन् । यस्तै हेम गुरुङले कमेन्ट गरेका छन्, ‘फिल्म राम्रो लाग्यो, नयाँ अनुहार कुसुम गुरुङले पनि राम्रो अभिनय छिन् ।’

एक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तै फिल्म बन्ने हो भने हामी हिन्दी र मद्रासी फिल्मलाई कहिल्यै क्लिक गर्दैनौँ, अरु पनि यस्तै फिल्म बनोस् ।’, यस्तै रीमा थापा नामक प्रयोगकर्ताको प्रतिक्रिया छ, ‘मैले आजसम्म हेरेको फिल्मभन्दा यो सयौँ गुणा राम्रो छ, कुनै शब्द छैन यो फिल्मको व्याख्या गर्न ।’

यो समाचार तयार पार्दासम्म फिल्म ‘मेरी मामु’ लाई ३ हजार ३ सयभन्दा बढी प्रतिक्रिया आएका छन् भने नेपालको युट्युब ट्रेन्डिङको नम्बर दुईमा बसेको छ ।

चलचित्रमा अयुब सेन, सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङ, भुवन चन्द, दुर्गा मल्ल ठकुरी लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, अष्ठ महर्जनको एक्सन, वनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?