प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीलाई एक घण्टा, सांसदले प्रश्न सोध्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग सवाल जवाफ गर्ने भएका छन् । 

शुक्रवार मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा सांसदहरुले सोधका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने भएका हुन् ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ५६ बमोजिम आज प्रश्नोत्तर शत्र सञ्चालन गर्ने कार्यसूची तय भएको जनाएको छ । 

नियम ५६ मा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रत्यक्ष रुपमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने उल्लेख छ ।

नियमावलीमा सो व्यवस्था भएपनि अभ्यास भने आज हुने प्रश्नोत्तरी नै पहिलो हो । संघीय

संसदको अधिवेशन शुरु भएको करिब एक वर्ष पुग्न लागेपछि प्रधानमन्त्री र सांसदबीचको प्रश्नोत्तर शत्र शुरु हुन लागेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।

यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न विदेश भ्रमणबारे जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओली माघ ६ गते (आइतबार) स्वीटजरल्याण्ड भ्रमणमा जादै छन् । 

यसैबीच आजै प्रतिनिधिसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । 

बैठकमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक र पारमाणविक विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको सचिवालयका सहप्रवक्ता अर्यालले बताए । 

त्यस्तै आजको बैठकमा यी दुई वटा विधयेकसँगै नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र जीवनाशक विषादी व्यवस्थापन विधेयक दफावार छलफल गर्न समितिमा पठाउने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?