झापडकाण्ड छानविन समितिको म्याद सकियो, मन्त्री यादवले अलोकतान्त्रिक चरित्र देखायो: कांग्रेस

काठमाडौंं । प्रदेश २ का आर्थिक मामिला मन्त्री विजयकुमार यादवले कार्यकक्षमै सचिव कुटेको विषयमा छानविन गर्न गठित समितिको समय सीमा शनिवार सकिएको छ । 

घटना भएकै दिन प्रदेश सरकारले कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको थियो । तर, समितिको म्याद हिजो शनिवार नै सकिएको हो ।

आर्थिक मामिला मन्त्री यादवले गत पुस २९ गते गरिबी निवारण कार्यक्रम अन्तर्गत आफू निकट एनजिओलाई योजना नपारेको भन्दै वन वतावरण पर्यटन तथा उद्योग मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटेका थिए ।

घटना भएको आठ दिन बितिसक्दा पनि सरकारले केही भनेको छ न त छानबिन समितिले नै प्रतिवेदन बुझाएको छ । 

कानुनमन्त्री यादवको संयोजकत्वमा गठित छानबिन समितिले सात दिनको समय पाएको थियो । 

सरकारको मौनता र समय गुज्रेपनि छानविन समितिले प्रतिवेदन बुझाउन गरेको ढिलाइले मन्त्री यादवलाई कारवाहीबाट जोगाउने खेल भइरहेको भन्ने आशंका सर्वसाधारणको छ । 

उत्ता यादवको कारवाहीको माग गर्दै कर्मचारी चरणबद्ध आन्दोलनमा छन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री यादवले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउँदै कारबाहीको माग गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?