महाराज ! उडाइदिउँ केसीलाई

 महाराज !

अझै बाँकी छन् भने

सिंहदरवारमा

उवेलाका जंगे तरवारहरु

झिकौँ छप्काईदिउँ केसीको गर्धन

न रहे बाँस

न वजे बाँसुरी । 

***

चिऽऽऽसो भुईमा भोकै सुतेर

खाडीबाट आउने रेमिट्यान्स् रोकेर

सस्तैमा डाक्टर पढ्न पाईन्छ भनेर

गरीव भड्काउने

महाराजको सिंहासन हल्लाउने

को हो यो पिलन्धरे डाक्टर ?

***

महिना भरिको तलवबाट आफ्नै गाँस काटेर

पिठिउँमा औषधीको भारी बोकेर

पहाड–पर्वत रोगीको उपचार गर्दै हिड्ने

महाराजको समाजवादी शासनमा धक्का दिने

को हो यो फकिर डाक्टर ? 

***

एक हजारको सुईलाई एकाउन्न हजार लिने

अस्पताललाई व्यापारको थलो बनाउँने

महाराजहरुलाई सिंहासनमा पुर्याउने 

नामुद माफिया माथी नै

लमतन्न सुतेर धावा बोल्ने 

को हो यो सन्त डाक्टर ? 

***

सक्ने जनताहरुले घर खेत बचेर भएपनि

उपचार गराएकै छन् 

नसक्नेहरुले सडक देखी संजाल सम्म

रुँदै बचाईदिन दुईहात थापेकै छन् 

महाराजहरु टाउको दुख्दा टोकियो

बाक्लो सिँगान आउँदा सिंगापुर पुगेकै छन् ।

यि अस्ताउन लागेका बुढा डाक्टरलाई चाँही

किन चाहिएछ जनताको लागी सर्वसुलभ उपचार ? 

***
हो महाराज !

भोली फेरी कयौँ कुकृत्य विरुद्ध

यसैगरी अनशन छेडे भने

महाराजको सिंहासन ढल्न के बेर!

त्यसैले आजै निकालौँ

सिंहदरवारबाट

उवेला जंगेले गाडेको बारुद र तोपहरु

पड्काईदिउँ केसीको कंचटमा 

न बाँकी रहन्छ आग्रह

न बाँकी रहन्छ सत्याग्रह । 

                                     –भानु दाहाल 

 दाहालद्वारा लिखित साउन २४, बिहिबार लोकपथमा प्रकाशित यो कविता पनि पढ्नुहोस्  –  कविता  :  तिमिलाई छोरी मन पर्दैन ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?