घरमै बसेर मनग्गे कमाउने कुशमाया राईको भिडियो कथा, गाउँमा तान बुन्छिन्, शहरबाट अर्डर आउँछ

ओखलढुंगा । विकासका हिसाबले विकट मानिने खोटाङ र सोलुखुम्बुको सीमानाबाट धेरै टाढा छैन ओखलढुङ्गाको कुइबिर गाउँ । हिमालको पानी बोकेर सुसेुल्दै बग्ने दूधकोशी नदी वारपारका खोटाङ र ओखलढुंगा आसपासका गाउँका स्थानीयहरु यही कुइबिरको बाटो हुँदै सोलुखुम्बुको नेचा पुग्ने गर्छन् । व्यापारको हिसाबले सोलुखुम्बुको नेचाको आफ्नै इतिहास छ । कुइबिर क्षेत्र आसपासका स्थानीयहरू किनमेलका लागि जाने ठाउँ हो नेचा ।

नेचा जाँदा केही बेर उकालो हिँडेपछि कुइबिर ओझेल पर्दै जान्छ । उकालो सकिएर बिस्तारै तेर्सो बाटो आउन थाल्छ । कुइबिर सकिँदै गर्दा नेचा पुग्न जंगलको बाटो हिँड्नुपर्छ । जंगल शुरु हुनुभन्दा पहिले नै कुइबिरको डाँडामा कुशमाया राईको घर पर्छ ।

धेरैका पैदल यात्रुका लागि यो घर पानी पिउन बस्ने चौतारो पनि हो । किनकि, यसपछि लगभग तीन घण्टाको यात्रापछि पुगिने नेचा पुग्न बीचमा अरु घर खासै भेटिँदैनन् । पैदल यात्रुहरु यही घरमा पसेर पानी पिउँछन् । र, बाटो लाग्छन् ।

यहाँका स्थानीयको मुख्य पेशा खेतीपाती नै हो । त्यो बाहेक कमैले मात्र व्यवसाय गरेका हुन्छन् ।

भिडियो कथाः

कुशमाया राईले भने फुर्सद भएको बेला तान बुन्ने काम गर्छिन् । यो उनको परिवारका लागि राम्रो कमाइ गर्ने इलम पनि हो । उनले धागोबाट तयार पारेको कपडा धरान लगायत विभिन्न शहरमा निर्यात हुन्छ । उक्त कपडाले बजार नपाउला कि भन्ने चिन्ता हुँदैन, अर्डर घरमै आउँछ ।

हामी पुग्दा उमेरले त्यस्तै साठी पुग्न लागेकी कुशमाया आँगनमा बसेर तान बुनिरहेकी थिइन् । नजिकै नाति खेलिरहेको थियो । बुहारीले बारीको डिलमा बसेर घाम तापिरहेकी थिइन् । अरु परिवार घरमै थिए ।

सुविधाका हिसाबले विकट यो क्षेत्रमा अहिले चाहिँ मोटरबाटो पुगे पनि निरन्तर गाडी भने जाँदैनन् । कहिलेकाहीँ गाडी पनि पुग्छन् । तर, विकासका हिसाबले यो क्षेत्र अझै पनि उत्तिकै विकट छ ।

धरानबाट ल्याइएको कच्चा धागोबाट कुशमायाले धागो बुन्छिन् । धागो पकाउन, बारीमा सुकाउन उनलाई परिवारले पनि सघाउँछन् । मकै काटेका बुटीमा तयार पारिएका कपडा सुकाइन्छन् । यसरी तयार पारिएको कपडाबाट राम्रो आम्दानी हुने गरेको कुशमायाले बताइन् ।

तान बुन्दै कुशमाया । तस्वीरः अर्घेलो थापा

‘निरन्तर रुपमा काम गर्ने हो भने त प्रन्ध्र दिनमा नै बुनेर सकिन्छ नि, यो पनि घरेलु उद्योग नै हो,’ कुशमायाले तान मिलाउँदै सुनाइन्, ‘यही काम मात्र गर्छु भन्ने हो भने छोराछोरी पढाएर घर चलाउन मज्जाले सकिन्छ ।’

उनी यसरी बुन्ने काम धेरै समय गर्दिनन् । फुर्सद मिलाएर मात्र यसरी तान बुन्छिन् । आफूले आमाहरुबाटै बुन्न सिकेको बताउने कुशमायाले आफ्ना छोरी र बुहारीहरुलाई भने बुन्न सिकाएकी छैनिन् ।
‘खै, उनीहरुले त यो काम गाह्रो लाग्यो, नसिक्ने भन्छन्, छोरीहरुले त बरु पढ्ने भन्छन्, तर यो काम सिक्नै खोजेनन् ।’, कुशमायाले सुनाइन् ।

घरको आँगन र कुशमाया । तस्वीरः अर्घेलो थापा

यसरी कपडा तयार पार्दा उनलाई घरमा दुई छोरीहरुले पनि सघाउँछन् । तान बुन्नका लागि पहिले धागो ल्याइसकेपछि त्यसलाई मज्जाले पकाएर बारीमा सुकाउने काम गरिन्छ । त्यसरी पकाएको धागोलाई काँगियोमा बाँधेर तानमा राखिन्छ । तानमा मिलाएपछि बल्ल बुनिने कुशमायाले सुनाइन् । 'अलिअलि झण्झट त छ नि, तर फुर्सद हुँदा बुनेर बस्छु ।', सुनाइन् ।

यसरी बुनेर तयार पारेको कपडालाई पुनः घाममा सुकाइन्छ । तयार भएको कपडा दौरा सुरुवाल, मफलर लगायतका कपडा बनाउने गरी तयार पारिने उनले बताइन् । ‘अर्डरअनुसार बुन्छु, कपडा बनाएर तयार पार्न त खासै गाह्रो होइन तर निरन्तर रुपमा काम गर्न भ्याउँदिन ।’, कुशमायाले सुनाइन्, ‘सीप भयो भने घरमै बसेर पनि त कमाउन के गाह्रो छ र? खर्च त धानिहाल्छ नि ।’

कुइबिरको स्कूल । यो स्कूल कुशमायाको घरबाट देखिन्छ । तस्वीरः अर्घेलो थापा

फोटो/भिडियो: अर्घेलो थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?