कविता: डा. केसी, तिमी चुप लाग

  • भेषराज देवकोटा

ए डाक्टर,
किन बोल्छौ, शान्ति र न्यायका लागि
न्यायका कुरा त, नेताले बोल्नुपर्ने
नेताले बोलेपछि सुगा रटाई जप्नेले बोल्नुपर्ने 
रैतीका डाक्टरको के अधिकार छ र !


ADVERTISEMENT

ए डाक्टर,
तिमीले चिकित्सा पढ्दै गर्दा
उनिहरुले वाद र सिध्दान्तका ठेली पढ्दाजस्तो
किन मानवता र तर्कशक्ति बिर्सन जानेनौ
तिमी किन मुर्ख बन्न जानेनौ !

ए डाक्टर,
किन बुझ्दैनौ कि नुनको सोझो गर्नुपर्छ भनेर
जनताको कर खाएको सम्झिएर
तिमी निराहार अनशन बसिरहँदा
तिमी बुझ्दैनौ मार्सी र चौरासी व्यञ्जन अलिना थिएनन्


ए डाक्टर,
खल्ति भर्ने नोटहरु जनताका पसिनाले नुनिला नहोलान्
तर, तिनैले उनका भान्सामा चौरासी व्यञ्जन पाक्छन्
तर तिमी पटक्कै बुझ्दैनौ
चौरासी व्यञ्जन पनि कतै अलिना होलान् ?

ए डाक्टर,
जसरी तिमी मातृभुमी सम्झिन्छौ
उनिहरु पनि आफ्ना स्रोत सम्झन्छन्
जसरी तिमी इमान्दार छौ
अरुलाई पनि इमान्दार बन्न देऊ

ए डाक्टर,
हड्डिका डाक्टरले न्याय मागेको सुन्दा
तिनीहरुलाई असिमीत हाँसो लाग्छ 
तिमीले मानवता बिर्सिन नजानेको देख्दा
जुन तिनीहरुको झण्डा बोक्ने कलाको कखहरा थियो


 

Leave a comment