कारागारमा क्षमताभन्दा बढी कैदी

पर्वत । कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी बस्न बाध्य छन् । ‘ङ’ श्रेणीमा सूचीकृत कारागारमा १५ पुरुष र १० महिला बन्दीको क्षमता भएपनि अहिले १०२ बन्दी छन् । 

कारागारका निमित्त प्रमुख प्रकाश पौडेलले कारागारभित्र उचित बस्ने व्यवस्थाको अभाव भएपछि आपसी समझदारीमा मिलाएर एकै कोठामा धेरैलाई राख्नुपरेको बताए । क्षमताभन्दा बढी भएकाले व्यवस्थापनमा निकै समस्या छ । जीर्ण संरचनाका कारण कैदी भाग्ने त्रास बढ्दै गएको उनले बताए । कैदीबन्दीले पटकपटक समस्याबारे कारागार प्रशासनलाई जानकारी गराउँदै आएका छन् । 

कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदै आएको छ । “कैदीबन्दीका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका छौँ,” निमित्त जेलर पौडेलले भने, “समस्या समाधान भएको छैन ।” उनले अब हिउँद लागेकाले खानेपानीको समस्या देखिन थालेको, शौचालयको प्रर्याप्तता नभएको र सुत्नका लागि कैदीबन्दीलाई असहज भएको बताए । 

कारागारमा कैदीबन्दी बस्नका लागि तीन ब्लक छन् । तीनै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् । महिला बन्दीगृहको व्यवस्था नभएको पर्वत कारागारमा पुरुष कैदीबन्दीका लागि नै निर्माण भएको बन्दीगृहभित्र फरक–फरक ब्लक बनाएर राखिँदै आएको छ । एउटा ब्लक थप बनाउन रु २० लाख विनियोजन भएको उनले बताए । 

आर्थिक अभावमा महिला बन्दीगृह निर्माण हुनसकेको छैन । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कारागारको समस्याका बारेमा कारागार विभाग र गृह मन्त्रालयमा समेत पटक–पटक जानकारी गराएको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?