कांग्रेसका नेता रोकामाथि कुटपिट

रुकुम । पूर्व सहायकमन्त्री तथा काङग्रेसका नेता केशरमान रोकालगायत अन्य चार जनामाथि रुकुमकोटमा कुटपिट गरिएको छ । 

पूर्वमन्त्री रोकालगायत काङग्रेसका ध्रुव पुन, नेकपाका सतमान पुन र पुनिराज घर्तीमाथि कुटपिट गरिएको हो । रुकुमकोटमा आन्दोलन चलिरहेका बेला बन्दको अवज्ञा गरेको भन्दै कुटपिट गरेको आन्दोलनका सहभागीले बताएका छन् । 

कुटपिटको क्रममा रोकाको घाँटीमा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार गराएपछि उहाँको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । रुकुमकोटमा आफू सदरमुकामको विषयमा वार्ता गर्न भनि आएको र आउँदा आफूमाथि आक्रमण भएको पूर्वमन्त्री रोकाले बताए। 

रुकुम (पूर्व)को सदरमुकामको विवाद विचाराधीन रहे तापनि जिल्लामा भने विवाद बढ्दै गएको छ । रुकुमकोट सदरमुकामको पक्षमा आन्दोलनरतले गर्दै आएको आन्दोलन थप सशक्त बन्दै गएको छ । यसैबीच जिल्लाको रुकुमकोटमा शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथाउत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा राख्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध रुकुमकोट र रुकुमकोट आसपासका नागरिक आन्दोलनमा छन् । 

देउवा नेतृत्व सरकारको सो निर्णय विरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केही शान्त भए पनि यही माघ १४ गतेबाट पुनःआन्दोलनका कार्यक्रम शुरु गरिएको छ । रिट दर्ता भएयता सर्वोच्च अदालतले सरकार र रिट निवेदकलाई पटक-पटक पेशी र साधारण तरिकाले बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?