जब सारा दुनियाँ सुत्छ, म जाग्छु : फाइभ मन्थ्स् लेखक

काठमाडौं । उपन्यास ‘फाइभ मन्थस्’ रिलिज गर्नुपूर्व निमेश पौडेललाई आफ्ना नजिकका साथी, आफन्त र कलेज सर्कलले चिन्थे । पहिलो उपन्यासले भने उनलाई युवा पाठकमाझ परिचय दिलाइदिएको छ । युवाकै कथा उठान गरेकाले पनि पौडेल युवापुस्तामाझ लोकप्रिय छन् ।

लेखक पौडेलको भनाइमा उनको पहिलो उपन्यास ‘फाइभ मन्थ्स्’ बेस्ट सेलर उपन्यास पनि हो । सोही कारण पनि पौडेललाई धेरैले प्रतिभावान् लेखकका रुपमा हेरेका छन् । यतिबेला उनी दोस्रो उपन्यास ‘फेब्रुअरी १४’ को तयारीमा छन् । ‘प्रणय दिवस’ को अवसर पारेर उनको उपन्यास सार्वजनिक हुँदैछ । उनी विश्वस्त छन् – यो उपन्यासले पनि पाठकको मन जित्नेछ, बेस्ट सेलर नेपाली उपन्यास बन्नेछ ।

‘पहिलो उपन्यासले दिएको प्रतिक्रियाले पनि यो उपन्यासले चर्चा पाउँछ भन्ने लागेको छ’, लेखक पौडेल आफ्नो दोस्रो पुस्तकको चासोबारे सुनाउँदै थप्छन्, ‘पाठकले दोस्रो कोशेलीलाई कसरी लिनुहुने हो भन्ने भय त छ तर रिलिज गर्न आतुर छु ।’

‘पाठकले यो उपन्यासलाई पहिलो पुस्तकसँग दाँज्नुहुनेछ, दोस्रो उपन्यास लेखनका हिसाबले अझ परिष्कृत भएको महसुस गरेको छु’, पौडेल सुनाउँछन् ।

पहिलो उपन्यास लेख्न जति समय लागेको थियो, त्यसको हिसाबमा ‘फेब्रअरी १४’ लेख्न भने झण्डै आधा कम समय लाग्यो । यद्यपि उपन्यासको शील्प पहिलेको भन्दा अझै खारिएको बताउँछन् पौडेल । भन्छन्, ‘सबै पाठकको चित्त नबुझ्नु आफ्नै ठाउँमा छ, मैले मेरो तर्फबाट शतप्रतिशत दिने कोशिश गरेकोे छु ।’

उपन्यासमा त्यस्तो नयाँ के होला ? पौडेलका अनुसार यो उपन्यास पनि प्रेमकै वरिपरि घुमेको छ ।

एकोहोरो प्रेम लेख्दा पाठकलाई स्वादिलो नलाग्ला भनेर प्रेमसँगै जीवनका विभिन्न आयामलाई पनि उठाएको बताउँछन् पौडेल । ‘प्रेम आफैमा नाम एक तर, स्वरुप अनेक हो जस्तो लाग्छ मलाई,’ निमेश मुस्कुराउँदै भन्छन्, ‘त्यसैले लभ स्टोरी भएपनि भिन्न फ्लेभर दिन खोजेको छु ।’

पहिलो उपन्यास ‘स्कुले प्रेम’का बारेमा थियो भने ‘फेब्रुअरी १४’ ले समसामयिक विषयको उठान गरेको उनको दाबी छ । कथाले ‘लङ्ग डिस्टेन्स रिलेसनशिप’ को व्यथालाई समेटेको छ । जुन प्रविधिसँगै आम मानिसका लागि सामान्य विषय बनिसकेको छ । ‘पढाइ र रोजगारका लागि युवाहरु विदेशिने क्रम बढेको हुँदा उनीहरुको प्रेम सम्बन्धमा पनि समस्या आइरहेका हुन्छन्, मैले चाहिँ दूरीले प्रेमलाई असर गर्दैन भन्ने सन्देश उपन्यासमार्फत दिन खोजेको छु’, उनी सुनाउँछन् ।

त्यसो त, दोस्रो पुस्तक सार्वजनिक नगर्दै निमेशले फेरि अर्को उपन्यास लेख्न थालिसकेका छन् । तेस्रो उपन्यास पनि प्रेमकै बारेमा हुनेछ पहिलो र दोस्रो जस्तै ।  ‘तर, अघिल्ला उपन्यासहरु भन्दा यो भिन्न हुनेछ’, कारण पहिल्याउँदै उनी थप्छन्, ‘तेस्रो उपन्यासमा मैले कसैको वास्तविक प्रेम कथा नै लेख्न लागेको छु । ’

आउने केही वर्ष प्रेमकै बारेमा उपन्यास लेख्ने र आफ्नो लेखन र अनुभवहरुलाई तिखारेपछि फरक धारको उपन्यास लेखनमा हात हाल्ने सोच बनाएको पौडेल बताउँछन् ।

‘गाली र ताली दुवै दिन्छ सामाजिक सञ्जालले’

सामाजिक सञ्जालले लोकप्रिय बनाएका प्रतिभाहरुमा पर्छन् निमेश पनि । सामाजिक सञ्जाल नहुँदो हो त आफ्नो पहिलो पुस्तक जति लोकप्रिय भएको छ त्यति नहुने उनी बताउँछन् । त्यसैले सोसल मिडियामा निकै सक्रिय रहन्छन् निमेश । फेसबुकमा प्रेमिल स्टाटसहरु पोस्ट गरिरहन्छन् ।

उनका स्टाटसमा ‘तपाइका शब्दहरुले आत्मा छुन्छन्’, ‘तपाई सधैं लेखिरहनुहोस्’, ‘साँच्चै तपाईको लेखाइमा छुट्टै जादू छ’ जस्ता कमेन्टहरु हुन्छन् । ‘तपाईको स्टाटस नपढी निन्द्रा लाग्दैन’ भनेर इनबक्स पनि गर्न भ्याउँछन् केही फ्यानले । 

तर, यस्ता सकारात्मक प्रतिक्रियाहरुसँगै केही नकारात्मक प्रतिक्रियाहरु पनि आएका हुन्छन् । तिनलाई सुझावका रुपमा लिने गरेका छन् उनले । उपन्यास आएको केही दिनसम्म भने निमेशले सकेसम्म यस्ता नेगेटिभ कमेन्टहरु ‘इग्नोर’ गर्ने सोचेका छन् । उनी सुनाउँछन्, ‘सामाजिक सञ्जालले गाली र ताली दुवै दिन्छ, दुवैलाई म्यानेज गर्नसक्नुप-यो नि ।’

‘जब सारा दुनियाँ सुत्छ, म जाग्छु’

बाबा सामान्य सरकारी जागिरे । आमा गृहिणी । पढ्न मन लागेका सबै पुस्तक किन्ने पैसा हुँदैन थियो निमेशसँग । त्यसैले सानैदेखि पुस्तक पढ्न, मुक्तक, कविता, कथा लेख्न मन पराउने निमेश खाजा खान दिइएको दश रुपैयाँ लिएर साइबर जान्थे ‘अनलाइन पुस्तक’ पढ्न । साथीभाइहरु ब्याट, बल लिएर खेल्न निस्कदा उनी हातमा उपन्यास लिएर घोत्लिरहेका हुन्थे । 

साहित्य रसमा सानैदेखि भिजेको प्रभाव हुनुपर्छ उनलाई अहिले पनि कुनै न कुनै पुस्तक पढिरहनुपर्छ, केही न केही लेखिरहनुपर्छ । तर, साहित्य पढ्ने र लेख्ने दुवै काम रातको १० बजेपछि मात्रै गर्ने उनी सुनाउँछन् । उनका अनुसार दिनको उज्यालोमा भन्दा रातको अँध्यारोमा उनको लेखन कला प्रखर भएर आउँछ । 

‘त्यसैले आफ्ना दुवै उपन्यास मैले राति नै लेखेको हुँ,’ हाँस्दै उनी थप्छन्, ‘जब सारा दुनियाँ सुत्छ, म जाग्छु ।’

निमेश अहिले आइटी विषय लिएर स्नातक तहमा पढ्दैछन् । पढाइमा उत्तिकै अब्बल छन् उनी । आफ्नो ब्याचका टपर हुन् । भविष्यमा ‘साहित्य’ लाई नै प्राथमिकतामा राखेपनि ‘आइटी’ फिल्डलाई सँगसँगै डो-याउने उनी बताउँछन् ।

भन्छन्, ‘पढाइ एकातिर छ, रुचि साहित्यमा छ, दुवैलाई एकसाथ अगाडि लैजाने सोच छ, खुशी छु ।’
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?