कविता : मरेपछि

शरद पोख्रेल- 

जिन्दगीको एक सर्को श्वास सर्किएपछि


ADVERTISEMENT

चढाइएको हुँ हतार हतार चितामाथि

***

चढाइनै लाग्दा चितामा 

खुबै रोए कोही

र खुबै रोए जस्तै गरे कोही

***

कोही रोए यौटा प्रियजन घट्यो भनेर

कोही रोए भट्टीको यौटा ग्राहक घट्यो भनेर

कोही रोए होटलको उधारो बिल सम्झेर 

कोही किराना पसलको खाता सम्झेर

कोही नेपाली कागजमा लगाइएको औँठाछाप सम्झेर।

आँशु सबैले देखाए।

***

प्रियजनहरूको ताप घट्यो बिस्तारै बिस्तारै

जब बढ्दै गयो मेरो चिताको ताप बिस्तारै बिस्तारै।

***

आफ्नैहरू दिक्दार हुदै थिए-म जल्न ढिलो गरेकोमा

आफ्नैहरू घोच्दै थिए- मेरो निश्प्राण देह

र भन्दै थिए अझै कतिञ्जेल कुर्नू ?

***

जिन्दगीभर हतार हतार गरी कोरिएका 

रहरका रहरलाग्दा स्केचहरू

मेरै धुवाँको आकृतिमा उडे, उडिरहे।

कहिलै निदलाग्दो निद नसुतेरै देखिएका

सपनाका स्वर्णिम सपनाहरू

मेरै खरानीको थुप्रोमा हराए, हराइरहे।

***


दशदिशा भौतारिएका हाडमासुका थुप्राहरू

धुवाँ बनी आकाशदिशा पछ्याए, पछ्याइरहे।

***

नहुँदो रहेछ जमिनमा बच्नलाई कुनै तत्व

केही धुवाँबनेर सक्किए

केही खरानी बनेर उडिगए

जति बचेको थियो मेरो अस्तित्व हाडखोरहरूमा

ती पनि बगिगए नदी किनारै किनार

मेरा प्रियजनलाई नसताऊँ भनी।

***
र म यतिबेला निकै आश्चर्यचकित बनेर 

चितामा चढ्नु भन्दा अगाडिका मेरा जर्जराएका हात गोडा 

र तिनका ठेला सम्झिरहेछु 

अनि नियालिरहेछु मेरै छेऊमा टोलाइरहेका

मेरै करोडपती साहेबको फुक्काफाल नियती।

अचम्म ! उनीहरू पनि मरेपछि केही नलिई आउँदा रहेछन्।

***
पोख्रेलले लेख्नुभएको यो कविता पनि पढ्नुहोस् । 

*कविता : देश कहिलै नबन्ने भो हगि ?*

Leave a comment