प्रदेश ३ मा मंगलवार सार्वजनिक बिदा

काठमाडौं । प्रदेश ३ को प्रदेश सरकारले मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  

तामाङ समुदायको बाहुल्य रहेको प्रदेश ३ मा प्रदेश सरकारले २८५५ औँ सोनाम ल्होछारको अवसरमा भोलि (मंगलवार) सार्वजनिक बिदा दिने भएको हो । 

गत माघ ९ गतेको निर्णय अनुसार सोनाम ल्होछारका अवसरमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । 

तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछार रहेकाले सो दिन बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक वरिष्ठ अधिकृतले जनाए ।   

प्रदेश ३ को सरकारले सार्वजनिक बिदा दिएको यो दोस्रो पटक हो । 

यसअघि माघ १६ गते शहिद दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?