विकास बोर्डकी अध्यक्ष निकिताले दिइन् राजीनामा, रवि लामिछानेलाई साथ दिने

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छिन् । पौडेलले एक विज्ञप्ति जारी गर्दै आफूले पदबाट राजीनामा दिएको स्पष्ट पारेकी छिन् ।

‘भोलि माघ २३ गतेदेखि लागू हुने गरी मैले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट माननीय मन्त्री ज्यू समक्ष राजीनामा दिएकी छु’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको कुनै काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ ।’

लामो समयदेखि रिक्त रहेको विकास बोर्डको अध्यक्ष पदमा पौडेल गत मंसिरमा नियुक्त भएकी थिइन् । राजीनामा दिँदै उनले विकास बोर्डको पहिलो महिला अध्यक्ष हुन पाउनु आफ्ना लागि विशेष अवसर भएको र बक्स अफिस पनि यसै समयमा लागू भएको बताएकी छिन् ।

साथै उनले पाएको तीन महिनाको तलब श्रीमान् रवि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिने घोषणा समेत गरेकी छिन् । उनले विज्ञप्तिमार्फत भनेकी छिन्, ‘सम्पूर्ण चलचित्र क्षेत्रको हितका लागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभए पनि दीर्घकालीन उपलब्धिका कैयौं सम्भावनाका ढोकाहरु खुलाउन मेरो प्रयास महत्त्वपूर्ण भएको ठानेकी छु ।’

उनले विज्ञप्तिमार्फत आफू विकास बोर्डको अध्यक्ष पदबाट अलग भए पनि यो क्षेत्रका लागि सधै लागिपर्ने र अबको आफ्नो अधिकतम समय कालीकोटमा बिताउने बताएकी छिन् ।

पौडेलले केही समयअघि मात्र सञ्चारकर्मी रवि लामिछानेसँग बिहे गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?