‘प्लेन चार्टर्ड’ अभियानका अभियान्ता दिपक सिलवालले सुनाए अंशसम्म बेच्नुपर्ने विवशता

ज्वरो आउँदा आफ्नै छोराछोरीले समेत सिटामोल दिन गाह्रो मान्ने यो समयमा कसैले आफ्नै खर्चमा प्लेन चाटर्ड गरेर गर्भवती महिलालाई अस्पतालसम्म पु¥याउँछ भन्दा शायदै कसैलाई विश्वास होला । तर, यही अविश्वसनिय काम गरेका छन्, दिपक सिलवालले । 

वि सं २०३८ सालमा स्वर्गीय पिता विष्णु प्रसाद सिलवाल र माता नरदेवी सिलवालको कोखबाट जन्मिएका दिपकको पुख्र्यौली घर तेह्रथुम हो । तर, उनले आफ्नो घरमा धेरै समय बिताएनन् । एसएलसी सकिनासाथ राजधानी प्रवेश गरे । ‘शहर आएर मात्र केही न केही बन्न सकिन्छ भन्ने थियो त्यसैले सानैदेखि आफ्नो लागि आफै कमाउन थालें’, उनी भन्छन् । 

गाउँबाट पहिलो पटक राजधानी आउँदा दिपकको बस्ने, खाने ठेगान थिएन । केही आफन्त थिए जसकामा पालैपालो गर्दै उनी बस्थे । पढाइ र पाकेट खर्चको लागि आफै पैसा जुटाउनुपर्ने अवस्था भएकाले आफूले पापड बेच्नेदेखि, स्कुलमा पढाउने लगायत हातमा जे आउँछ त्यही काम गरेको उनी सम्झन्छन् ।

‘जसरी भएपनि आफ्नो लागि खर्च जुटाउनु थियो त्यसैले ठूलोसानो नभनी सबै काम गरें,’ त्यसपछिका दिनहरु स्मरण गर्दै उनी अगाडि थप्छन्, ‘केही समयपछि भने स्वामी प्रपन्नाचार्यको सेवकको रुपमा काम गरें ।’

स्वामी प्रपन्नाचार्यलाई दिपकले कुनै कार्यक्रममा चिनेको र पुख्र्यौली गाउँ नजिकै पर्ने भएकाले स्वामीले उनलाई शहर आउँदा आफ्नै सेवकको रुपमा राखेको उनले सुनाए ।

स्वामीको सेवामा ७ वर्ष बिताएपछि उनले ‘घरआँगन’ नामक संस्थामार्फत् समाजसेवा गर्न थाले । 

संस्थाले अनाथ, बेसहारा बालबालिकाहरुको पालनपोषण र उचित स्थानान्तरण सम्बन्धि काम गथ्र्यो । विस्तारै सोही संस्थामार्फत् उनले स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालसँग समन्वय गरेर स्वास्थ्य क्षेत्रमा सेवा पु-याउन थाले । सोलुखुम्बु, सिन्धुपाल्चोक जस्ता जिल्लाका विकट गाउँहरुमा औषधी, उपचार प्रदान गर्ने क्रममा नै आफ्नो जीवनमा गर्भवती महिलाको सहयोग गर्ने संयोग जुरेको उनी बताउँछन् । 

पहिलो पटक ‘प्लेन चार्टड’ गरेको दिन उनी यसरी स्मरण गर्छन् :-

त्यसबेला म सिन्धुपाल्चोकको एक विकट गाउँमा संस्थाकै कामले गएको थिएँ । एकजना गर्भवती महिलाको डेलिभरी हुने बेला भएको रहेछ, उहाँ प्रसव पीडाले छटपटाइरहनुभएको थियो । अवस्था नाजुक भएपछि प्लेन चार्टर्ड गरेर राजधानी ल्याएमा मात्रै आमा र बच्चालाई बचाउन सकिने कुरा भयो । त्यहाँका बासिन्दाले म सामू बिन्ती बिसाए । मैले नकार्न सकिन । सिम्रिक एयरलायन्सको सहायताले हामीले उहाँहरुलाई शिक्षण अस्पताल ल्यायौं र आमा र बच्चा दुवैको ज्यान बच्यो ।

३८ वर्षे दिपकले अहिलेसम्म सोलुखुम्बु, सिन्धुपाल्चोक जिल्लाका विकट गाउँबाट गर्भवती महिलाहरुलाई प्रसव पीडाका दौरान अस्पतालसम्म पु-याइसकेका छन् ।

सिन्धुपाल्चोकमा गरिएको पहिलो उद्धारपछि आफूलाई विभिन्न ठाउँबाट उद्धारकार्यका लागि अनुरोधहरु आइरहेकाले यसैलाई अभियानका रुपमा अगाडि बढाउने योजना बनाएको उनले सुनाए ।  

अपरिचित महिलाको मातृत्व संरक्षणमा लागिपरेका उनलाई आफ्नै आमाले भने पैसा सकिने काममा किन लागेको भनेर बेलाबेला प्रश्न गरिरहन्छिन् । हुन पनि दिपकले यही अभियानका क्रममा आफ्नो अंश समेत बेचिसकेका छन् । अंशबाट आएको पैसा समेत पर्याप्त नहुँदा उनले थप ऋण पनि लिनुपरेको उनी बताउँछन् ।

‘तर, आफूले उद्धार गरेका महिला र उनीहरुबाट जन्मिएका छोराछोरीलाई हेर्दा मलाई सन्तुष्टी मिल्छ’, मुस्कुराउँदै उनी थप्छन्, ‘ऋण त विस्तारै तिरौंला नि ।’ 

समाजसेवामा सानै उमेरदेखि होमिएका दिपक अहिलेसम्म अविवाहित छन् । ‘प्लेन चार्टर्ड अभियान’लाई अझै व्यवस्थित ढङ्गले अघि बढाएपछि मात्रै विवाह गर्ने योजना रहेको उनले बताए ।  

कहिलेकाहीँ नियतले होइन नियतिले जुराइदिन्छ भनेझैं गर्भवती महिलाहरुको उद्धार गर्नु दिपकको योजना भन्दा पनि संयोग हो । 

तर, यस्तो संयोग भगवानले जुराइदेकोमा उनी खुसी छन् किनकी यही घटनाले उनको जीवनमा एउटा नयाँ बाटो खोलिदिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?