एक सय ३१ कम्पनीलाई श्रमिक आपूर्ति व्यवसायका लागि इजाजत

काठमाडौं । सरकारले एक सय ३१ कम्पनीलाई श्रमिक आपूर्ति व्यवसाय (आउट सोर्सिङ)का लागि इजाजत दिएको छ । 

श्रमिक आपूर्ति व्यवसायअन्तर्गतका कामलाई सरकारले चारवटा सेवामा विभाजन गरेको छ । सुरक्षा, सहजकारी, व्यवसाय सहयोग र घरेलु सहयोगी सेवा गरी ४ प्रकारका आउटसोर्सिङ कामदारलाई सरकारले विभाजन गरेको हो ।

अब यसै समूहअनुसार नै आउट सोर्सिङ कम्पनीहरु दर्ता हुनेछ । 

यसैगरी श्रम तथा रोजगार मन्त्रालयले सेक्युरिटी गार्डका रुपमा काम गर्नेहरुलाई सुरक्षा सेवामा समूहमा राखेको छ ।

सरसफाई, फोहोर व्यवस्थापन, क्याटरिङ वा क्यान्टिन, माली र कार्यालयहरुमा चिया खाजा तयार गर्नेहरुलाई सहजकारी सेवामा राखेको छ ।

यस्तै चालक, परिचालक, लोड, अनलोड, समानको ओसारपसार, भण्डराण, मर्मत सम्भार, प्राविधिक सहयोग, प्लम्बर, इलेक्ट्रिसियन, डकर्मी, सिकर्मी लगायतका निर्माण सेवामा काम गर्नेहरुलाई व्यवसाय सहयोग सेवा समूहमा राखिएको छ भने हाउसमेड, केयर गिभर लगायतकालाई घरेलु सहयोगी सेवा समूहमा मन्त्रालयले राखिएको छ ।

श्रम ऐनले तोकेको व्यवस्थाबमोजिम नयाँ श्रम नियमावलीमा आउटसोर्सिङ गर्ने कम्पनीले सरकारबाट इजाजतपत्र लिनुपर्ने र वर्ष–वर्षमा यसलाई नवीकरण पनि गर्नुपर्नेछ ।

यसैगरी कम्पनीले आफूले कुन प्रकारको सेवाका लागि इजाजत लिएको छ, त्यसमा मात्रै कामदार आपूर्ति गर्न सक्ने व्यवस्था सरकारले गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?