अब गरीबले उपचार नपाएर मर्नु पर्दैन : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । 

उनले संविधानमा शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तर्गत राखिएको बताउँदै अबको दिनमा गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका हुन् । साथै अध्यक्ष प्रचण्डले सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने समेत जानकारी दिए । 

प्रचण्डले सोमवार सिरहाको महनौरमा निर्मित स्वास्थ्यचौकीको उद्घाटन समेत गरेका थिए । उनले भने, ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया शुरु गरेको छ, उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन, गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन सकिन्छ ।’ 

पूर्वप्रधानमन्त्री एवं सिरहाका पूर्व जनप्रतिनिधिसमेत रहेका प्रचण्डले यो स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था गर्नेमा सकारात्मक रहेको समेत बताए । 

त्यस्तै उने मधेसी जनताको अधिकारको पक्षमा संविधान संशोधनका लागि लगातार पहल गरिरहेको समेत कार्यक्रममा बताए । ‘नेकपाको सरकारले मधेसको विधासमा ध्यान दिँदैन भनेर शंका नगर्न सिराहाबासीसमक्ष म आग्रह गर्छु ।’, उनले थपे । 

‘नेकपाले मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ, तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था  पनि भइसकेको छ ।’, प्रचण्डले भने । 

साथै उनले सिँचाई र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको समेत जानकारी दिए । 

उनले भने, ‘सिराहालाई आँपको जोनका रुपमा विकास गर्न पहल गरिरहेको छु,  सिराहालाई धानको सुपरजोनका रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्छु ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?