सरकारले गरेको कामप्रति जनता उत्साहित: प्रदेश प्रमुख तुम्वाहाङ

विराटनगर । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षको अवधिमा प्रदेशमा भएका कामको सराहना गरेका छन् ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज यहाँ आयोजित प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित भएको बताए ।  

उनले जनताका चाहना र आवश्यकतामा केन्द्रित भएर काम गरेमा प्रदेशलाई समृद्ध र सुखी बनाउन सकिनेमा जोड दिए । मुख्यमन्त्री शेरधन राईले प्रदेश तहको संरचना विल्कुलै नयाँ भएपनि जनताका काममा लगनशील भएर लागिरहेको प्रष्ट पारे । 

उनले सुशासनमा कसैसँग सम्झौता नगर्ने बताउँदै प्रदेशमा ९० वर्ष पूरा गरेका नागरिकलाई मासिक रु पाँच हजार घर–घरमै गएर प्रदान गरिने घोषणा गरे । 

सभामुख प्रदीपकुमार भण्डारीले प्राकृतिक स्रोत र सम्पदामा सम्पन्न यस प्रदेशलाई विकासको बाटोमा डो¥याउन प्रदेश सरकार सफल भएकामा खुशी व्यक्त गरे । 

मुख्यसचिव केदार न्यौपानेले प्रदेश सरकारले मितव्ययीता अपनाएकाले विकास कार्यमा मद्दत पुग्ने विचार व्यक्त गरे । 

त्यस अवसरमा प्रदेशको शान्ति सुरक्षालाई बलियो र सुदृढ बनाउन सुरक्षा निकायलाई २४५ थान मोटरसाइकल र १५ थान प्रदान गरिएको थियो । 

ती सवारी साधनका लागि १० करोड ५७ लाख खर्च गरिएको थियो । यसैगरी प्रदेश सरकारले एक वर्षको अवधिमा उत्कृष्ट कार्य गर्ने सचिव यज्ञबहादुर खत्री, प्रल्हाद सापकोटा, उपसचिव रवीन्द्र आचार्य, मनोजकुमार यादव, अनिरुद्रप्रसाद साह, खड्गप्रसाद चुँडाललगायत दुईदर्जन कर्मचारीलाई सम्मान गरिएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?