खेलले जुराइदिएको दिपक विष्ट र आयशा शाक्यको जोडी

काठमाडौं । दुई कप कफी, रोमान्टिक मौसम, मीठामीठा गफ । हामीले देखेका, सुनेका प्रेम कहानी अक्सर यसैगरी शुरुवात हुन्छन् । तर, आयशा र दिपकको प्रेमयात्रा शुरुवात भयो लडाइ गर्ने रिङभित्र । दुवैजना तेक्वान्दो खेलाडी भएकाले उनीहरुको प्रेम रिङबाटै शुरु भयो र त्यहीँ मौलायो ।

दिपक विष्ट र आयशा शाक्य, राष्ट्रिय तेक्वान्दो खेलाडी । नेपाली खेल क्षेत्रमा यी दुईको नाम नसुन्ने व्यक्ति कमै होलान् । कुनै जमाना थियो जब उनीहरु रिङमा उत्रिएपछि विपक्षी डराउँथे । नडराउन् पनि किन, आफ्नो खेल करियरमा लगभग सबै तेक्वान्दो प्रतियोगितामा बाजी मारेका छन् उनीहरुले । दिपकलाई त झन् ‘दि अनडिफिटेड’ भन्ने शीर्षक नै दिइएको उनले बताए । ‘अहिलेसम्म मैले जति पनि दक्षिण एसियाली देशका खेलाडीहरुसँग प्रतिस्पर्धा गरें कोहीसँग हारेको छैन,’ उनले कारण खुलाए ।

हुन पनि दिपक र आयशाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कैयौं प्रतियोगिताहरु जितेर नेपालको शिरलाई उच्च राखेका छन् ।

लगातार ४ वटा साफ गेम्समा स्वर्ण पदक जित्ने एकमात्र खेलाडी, दक्षिण एसियाको कुनै देशसँग अहिलेसम्म नहारेका खेलाडी, नेपालबाट क्वालिफाइ भएर ओलम्पिक्स्मा जाने एकमात्र पुरुष खेलाडी आदिजस्ता कैयन् कीर्तिमानी कायम गरिसकेका छन् दिपकले ।

यता, आयशाले पनि नेपालका लागि साग गेम्समा २ वटा सिल्भर र एउटा गोल्ड मेडल जितिसकेकी छिन् भने एसियन गेम्समा कास्य पदक बाजी मारिसकेकी छिन् । उनमा तेक्वान्दोप्रति यति धेरै लगाव थियो कि पहिलो बच्चा भएको केही समयमै उनले साग गेम्समा सहभागिता जनाइन् र मेडल जितिन् ।

‘१२ औं साग गेम्समा भाग लिँदा ठूलो बाबु भर्खरै जन्मिएको थियो,’ पुराना दिनहरु सम्झिएर मुस्कुराउँदै आयशा थप्छिन्, ‘त्यसैले अरुबेला भन्दा झनै बढी मिहिनेत गरें र सिल्भर मेडल जितें ।’

विविधतामा फक्रिएको माया

खेल जीवनमा जति सफल छ यो जोडी, आफ्नो व्यक्तिगत जीवनमा पनि उत्तिकै सफल र खुसी छ । त्यसो त आयशा र दिपकमा समानता भन्दा पनि भिन्नता बढी भएको उनीहरु आफै बताउँछन् ।दिपक सुदूरपश्चिमको पाखापखेरासँग जुधेर परिपक्व भएका व्यक्ति, यता आयशा राजधानीको सुखशयलमा हुर्किएकी आमाबाबाको प्यारी छोरी ।

त्यस्तै, उमेरमा पनि यी दुईबीच ११ वर्षको अन्तर छ । दिपकले तेक्वान्दो खेल्न शुरु गर्दा आयशाले तेक्वान्दोका बारेमा शायदै बुझ्ने बेला भएको हुँदो हो । अझ सबैभन्दा ठूलो अन्तर त उनीहरुमा ‘जात’को छ । उनीहरुले त्यो बेला अन्तरजातीय विवाह गरे जुनबेला हाम्रो समाजमा अन्तरजातीय मित्रतालाई समेत खासै रुचाइदैनथियो  । भलै, अहिले अवस्था केही बदलिएको छ । बाजा बजाएरै अन्तरजातीय विवाह गरिन्छ ।

तर, उनीहरुले यी सबै भिन्नतालाई आफ्नो प्रेमरुपी धागोमा उनेर विगत ८ वर्षदेखि सुमधुर सम्बन्धको माला गाँसेका छन् । परिवारको साथ र सहयोगविना यो सम्भव नहुने उनीहरु बताउँछन् ।

दिपकको परिवारले आयषालाई बुहारीको रुपमा खुसीखुसी स्वीकारेको दिपकका पिता महावीर विष्टले सुनाए । ‘हामीले त आफ्नो कूलस्थानमा लगेर समेत उनीहरुको विवाह गरिदिएका हौं,’ उनले भने ।

यद्यपि, आयशाको परिवार यस सम्बन्धलाई स्वीकार्न खासै तयार थिएन । विशेषतः उनका पिता । तर, समयसँगै उनको विचार बदलिएको आयशा बताउँछिन् । अहिले दुवै परिवारबीच सुमधुर सम्बन्ध छ । आफ्ना सन्तान देशकै सम्पत्तिका रुपमा चिनिदा उनीहरुका परिवार गर्वान्वित महसुस गर्छन् ।

सन्यासपछिको जीवन…

दिपकले खेल जीवनबाट सन्यास लिइसके, आयशा भने केही समय ‘ब्रेक’मा छिन् ।

उनीहरुका दुई छोरा छन्, आदिश र आधार । दुवैजना सानै भएकाले उनीहरुको हेरचाहमा बढी समय बिताउन चाहेको आयशाले बताइन् ।

राष्ट्रिय टिमबाट सन्यास लिइसकेपछि दिपक अहिले तेक्वान्दान्दोका राष्ट्रिय खेलाडीहरुलाई नै प्रशिक्षण दिइरहेका छन् । त्यस्तै आयशाले पनि आफ्नो ‘ब्रेक’ लाई तेक्वान्दोमै सदुपयोग गरिरहेकी छिन् । ससाना बालबालिकाहरुलाई तेक्वान्दोको प्रशिक्षण दिन्छिन् ।

‘बच्चा भएको केही समयपछि नै खेल्न तम्सिने मान्छे ब्रेक लिँदैमा कहाँ तेक्वान्दो छोड्न सक्छ र’, मुस्कुराउँदै दिपकले आयषाको तेक्वान्दोप्रतिको लगावलाई यसरी व्याख्या गरे ।

आफूहरु तेक्वान्दो खेलाडी भएकाले होला उनीहरु चाहन्छन् करियरका रुपमा नभएपनि कम्तीमा रुचिकै रुपमा आफ्ना छोराहरुले पनि तेक्वान्दो सिकुन् ।

खेलाडी जीवनबाट टाढिसकेपछि पनि खेल क्षेत्रलाई नै निरन्तरता दिइरहेको यस जोडीले आफ्नो वैवाहिक र पारिवारिक जीवनलाई समेत टमक्क मिलाएर लगेको छ । खेल र प्रेमबाट उनीहरुले सञ्चित गरेको खुसी ह्यासट्याग स्माइलको यस अंकमा समेट्ने प्रयास गरेका छौं । भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?