देशभरका एनालग टिभी सेवा पूर्णरुपमा बन्द गर्न सरकारको निर्देशन

काठमाडैं । सरकारले देशभरका एनालग टेलिभिजन सेवा पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको छ । 

सोमवार सार्वजनिक सूचना जारी गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभरका एनालग टेलिभिजन सेवा पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको हो । 

अहिले पनि एनालग टेलिभिजन सेवा सञ्चालनमा रहेको भेटिए जानकारी दिन मन्त्रालयले आग्रह समेत गरेको छ ।

गत वैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेर गरेको भेटिए उपकरण जफत गरी कानूनी कारवाही गर्ने चेतावनी दिएको हो ।

निर्देशन अटेर गरी ‘कसैले एनालगर प्रणालीका टेलिभिजन प्रसारणर विवरण गरेको भेटिएमा उपकरणहरु जफत गरी कानुन बमोजिम कारवाही गरिने’ चेतावनी दिइएको छ ।

मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार चरणवद्धरुपमा विभिन्न महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयकाृ निर्देशन अनुसार पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो भने दोस्रो चरणमा अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा बन्द गराइएको थियो । 

राष्ट्रिय प्रसारण नियमावली २०५२ मा संशोधन गरेर तोकिएका क्षेत्रहरुमा एनालग सिग्नल पूर्णरुपमा प्रतिबन्धित र गैरकानुनी हुने व्यवस्था गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?