नेपाललाई जिताउन राष्ट्रिय महिला क्रिकेटका मुख्य प्रशिक्षक विनोद दासको यस्तो मिहिनेत

काठमाडौं । छोराछोरीको परीक्षा आउने वेला एउटा अभिभावकले जस्तो अनुभव गर्छ यतिवेला त्यस्तै अनुभव गरिरहेका छन् विनोद दास । राष्ट्रिय महिला क्रिकेटका मुख्य प्रशिक्षक विनोद आइसीसी महिला क्रिकेट विश्वकप छनोट प्रक्रियामा आफ्ना प्रशिक्षार्थीहरुको प्रस्तुतिलाई लिएर केही चिन्तित छन् । छनोट खेल ‘सोमवार’देखि शुरु भए पनि नेपालले पहिलो खेल मंगलवार(आज) मलेशियासँग खेल्दैछ ।

नेपालका लागि विश्वकपसम्म पुग्ने यो पहिलो ढोकाको रुपमा रहेकाले पनि विनोदमा यस्तो ‘दबाव’ थपिएको हो । यद्यपी, यस तनावलाई आफ्नो आत्मविश्वासले जितेको उनी बताउँछन् । ‘मैले उनीहरुलाई नतिजामा भन्दा प्रस्तुतिमा ध्यान दिन सिकाएको छु,’ विनोद अगाडि थप्छन्, ‘जित्नु हार्नु आफ्नो ठाउँमा छ, खेलमा सुधार चाहिँ देखिनुप-यो ।’

प्रतिस्पर्धामा जानुअघि खेलाडीहरुलाई दिइएको १५ दिने बन्द प्रशिक्षणले उनीहरुको खेललाई झनै निखारेको विनोदको दाबी छ । प्रशिक्षणका दौरान खेलेजस्तै गरी अन्तर्राष्ट्रिय मैदानमापनि खेल्ने हो भने आइसीसी महिला विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाली टोलीलाई जित्ने अरु कुनै देश नभएको उनले बताए । ‘यदि सबै खेलाडीले आफ्नो सतप्रतिशत प्रस्तुति दिने हो भने हामीलाई हराउन सक्ने अरु टिम छैन,’ उनले लोकपथलाई भने । 

खेलाडी हुँदा आफ्नो चिन्ता, प्रशिक्षक हुँदा सबैको

अहिले राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा कार्यरत विनोद कुनै समय राष्ट्रिय टिमका कप्तान थिए । उनले तय गरेको दुई दशक लामो क्रिकेट यात्राले उनलाई नेपाली क्रिकेट नक्षत्रको चम्किलो सिताराका रुपमा स्थापित गरेको थियो भन्दा खासै फरक नपर्ला ।

सन् १९९७ बाट खेल यात्रा शुरु गरेका उनले सन् २००१ मा आफ्नो नेतृत्वमा नेपाललाई एसीसी यू १९ एलिट कपको उपाधि समेत दिलाएका थिए । आफ्नो नेतृत्वमा यू १९ ले अन्तर्राष्ट्रिय मैदानमा देखाएको उत्कृष्ट प्रस्तुतिकै कारण सरकारबाट ‘गोरखा दक्षिणबाहु’ पुरस्कारबाट सम्मानित भएको उनी सम्झिन्छन् । 

खेल्ने, राम्रो खेल्ने, खेललाई सुधार्ने यही प्रयासको वरिपरि घुम्थ्यो उनको दैनिकी जबसम्म उनी खेलाडी थिए । प्रशिक्षकका रुपमा मैदानमा उत्रिएपछि भने उनमा समग्र टिमलाई खेलाउने, राम्रो खेलाउने, खेलमा सुधार ल्याउने जिम्मेवारी थपिएको उनी बताउँछन् । 

‘पहिले र अहिलेको जीवनमा धेरै भिन्नता पाउँछु म’, विनोद अगाडि थप्छन्, ‘खेलाडी हुँदा आफ्नो मात्रै चिन्ता हुन्थ्यो प्रशिक्षक हुँदा सबैको ।’ 

‘खेलकुदबाट आर्थिक सन्तुष्टि पाउनै गाह्रो’

सुदूरपश्चिमको बारास्थित कलैयामा जन्मिएका विनोद क्रिकेटमैत्री वातावरणमा हुर्किए । उनी सानो छँदा गाउँका सिनियर दाईहरु खुब क्रिकेट खेल्ने र आफूले पनि त्यही हेरेर क्रिकेट खेल्न जानेको उनी सुनाउँछन् । खेलका बावजुद पनि पढाइ नबिगारेकाले घरपरिवारबाट समेत उनलाई खासै रोकटोक भएन । यही कारण हुनुपर्छ उनले पढाइमा पूर्णविराम लगाउने बारेमा कहिल्यै सोचेनन् ।

राष्ट्रिय टिमको सदस्य हुँदा नै ‘मानवस्रोत व्यवस्थापन’ मा स्नातकोत्तर गरेको उनले बताए । आफ्नो पढाइलाई सदुपयोग गर्दै केही समय शिक्षण पेशालाई पनि दिएका विनोद अहिले भने पूर्ण रुपमा प्रशिक्षणमै केन्द्रित छन् ।

आफ्नो जीवनको सबैभन्दा उर्जाशील समय नै खेलकुदमा समर्पण गरेका उनी भन्छन्, ‘खेलकुदबाट मनको सन्तुष्टि त मिल्छ तर, आर्थिक सन्तुष्टि पाउनै गाह्रो ।’ 

आफ्नो देशको आर्थिक अवस्थालाई बुझेर नै खेलमा मात्रै सीमित भएर जीवन सुखसयलमा बिताउन पाइयोस् भन्ने इच्छा राख्नु उचित नभएको आफूले पहिल्यै बुझिसकेको बताउँछन् उनी ।
‘अहिलेको जमानामा व्यक्ति वान डाइमेन्सनल भएर हुँदैन,’ विनोद अगाडि थप्छन्, ‘विशेषतः खेलाडीहरुले समयमै अन्य क्षेत्रमा पनि संलग्न हुन जरुरी छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?