राजीनामा दिएका पाठकविरुद्ध अख्तियारको अनुसन्धान शुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकविरुद्ध अदुअआले अनुसन्धान थालेको छ ।

नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएपछि आयुक्त पाठकले गत शुक्रवार पदबाट राजीनामा दिएका थिए । 

सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान शुुरु गरिएको अदुअआका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

पठकमाथि औपचारिक अनुसन्धान शुुरु भएको  प्रवक्ता दंगालले जानकारी दिए । 

उनले भने ‘पाठकमाथि विस्तृत अनुसन्धान शुरु गरेका छौं ।’

अदुअआले महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान शुुरु गरेको हो । 

महान्यायाधिवक्ताको कार्यालयले सोमवार पाठकमाथि अदुअआले छानबिन गर्न सक्ने राय दिएको थियो ।

इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा पाठनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको थियो । 

पाठकले राजीनामा नदिए सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महाभियोग लगाउने तयारी गरेको थियो । महाभियोग लगाउने तयारी भएपछि गत शुक्रवार पाठकले शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी सामु राजीनामा बुझाएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?