‘आइसीसी’ विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी शुरुवात, मलेसिया ३४ रनले पराजित

काठमाडौं । ‘आइसीसी’ महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको खेलमा नेपालले विजयी शुरुवात गरेको छ । 

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा मंगलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको हो । १ सय २७ रनको विजय लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको मलेसियाका पारी निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा मात्र ९२ रनमा समेटिएको थियो ।

मलेसियाका लागि क्रिस्टिना बारेटले २१ रन, दुराईसिङमले १८ रन तथा सासा अज्मीले १६ रन जोडिन् । नेपालका लागि करुणा भण्डारी र सरिता मगरले समान २-२ लिइन । त्यस्तै सिता राणा मगर र कविता कुवरले एक-एक विकेट लिइन । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा एक सय २६ रनको योगफल तयार पारेको थियो । 

नेपालका लागि ओपनरब्याट्स विमेनद्धय काजल श्रेष्ठ रु उपकप्तान सिता रानामगरले ५८ रनको साझेदारी खेलेका थिए । काजल १६ रनमा आउट भएकी थिइन् । त्यस्तै सिता सर्वाधिक ४३ रन बनाउँदै पेभेलियनमा फर्किन । उनले ४० बलमा २ चौका प्रहार गरेकी थिइन् ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी इन्दु बर्मा मात्र १३ रन जोडेर आउट भइन । नेरी थापा ६ रनमा आउट हुँदै पेभेलियनमा फर्किन । ममता चौधरीले भने खाता नै खोल्न सकिनन् । कप्तान रुबिना क्षेत्रीले ३३ रन तथा सरिता मगरले १ रन जोडिन । 

मलेसियाका लागि जुमिका अज्मी, सासा अज्मी र दुराईसिङमले समान एक-एक विकेट हात पारिन् । जितपछि नेपालले महत्वपूर्ण २ अंक बटुलेको छ । अब नेपालले बिहीवार आफ्नो दोस्रो खेलमा थाइल्याण्डको सामना गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?