गाईघाटमा निर्माणाधिन पुल भत्कियो

गाईघाट । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हँडैयामा निर्माणाधिन पक्की पुल भत्कन शुरु भएको छ । 

हडैया खोलामा निर्माण भइरहेको करीब ६० मिटर लामो उक्त पुलको दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीयवासी बुद्धिमान कार्कीले बताए । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्तपुल ढिलो गरी निर्माण भइरहे पनि केही भागसमेत भत्कन थालेको छ ।

सडक डिभिजन कार्यालय सिरहा, लाहानका इञ्जिनीयर बचन भण्डारीले पुल भत्केको विषयमा अध्ययन भइरहेको बताए । 

स्थानीयवासीले पुलमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेका कारण भत्कन थालेको बताएका छन् । वि.सं २०७३ देखि राजेन्द्र जगदम्बा गल्या जेभी प्रालि निर्माण कम्पनीले निर्माण शुरु गरेको उक्त पुल २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

अहिलेसम्म ५० प्र्रतिशत कार्यसमेत सम्पन्न नभएको स्थानीयवासी रुद्रकुमार तामाङले बताए । सडक विभागको आठ करोड ७९ लाख २८ हजारको लागतमा उक्त पुल निर्माण भइरहेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?