वकालत गर्न छोडेर समाजसेवामा होमिएका सन्तोष, यसरी बने ‘धर्मप्रसाद’

ललितपुर । स्थायी जागिर, मिलेको परिवार, सुविधासम्पन्न जीवन । औसत व्यक्तिले चाहने कुरा यही न हुन् । जीवनभरि ऊ भाग्ने, दगुर्ने, हतारो चटारोमा देखिने भनेको यही तत्व प्राप्तिका लागि हो । तर, आफ्नो स्थिर पेशा र व्यक्तिगत सुखसुविधालाई त्यागेर समाजसेवामा समर्पित भएका धर्मप्रसाद पौडेलको जीवनकथा भने छुट्टै छ ।

उनको वास्तविक नाम सन्तोषप्रसाद पौडेल हो । अहिले पनि स्कुल, कलेजका साथीहरुले उनलाई सन्तोष भनेरै बोलाउँछन् । तर, समाजसेवामार्फत् उनलाई चिन्ने प्राय सबैका लागि उनी ‘धर्मप्रसाद’ हुन् । समाजसेवाप्रतिको मोहले आफूलाई नाम र काम दुवै परिवर्तन गर्ने बनाएको उनी सुनाउँछन् । 

‘संसारको सबैभन्दा ठूलो धर्म भनेकै मानवता हो जस्तो लाग्छ मलाई,’ मुस्कुराउँदै उनी थप्छन्, ‘त्यसैले नाम र काम दुवै मिलाउने सोचका साथ आफै आफ्नो न्वारन गरें’ ।

***

धर्मराज पेशाले वकिल हुन् । उनको आफ्नै ‘ल फर्म’ पनि थियो तर, उनले वकालत गर्न उही बेला छोडिदिए जबदेखि उनी समाजसेवामा सक्रिय भएर लागे । यसो गरेको ३ वर्ष पूरा भएको उनले लोकपथलाई बताए । 

त्यसो त उनी पहिल्यैदेखि समाजसेवामा धेरथोर भिजिसकेका थिए ।  सर्वोत्कृष्ट जीवनका लागि शाश्वत चिन्तन’ नामक अभियानमा पहिलेदेखि नै सक्रिय भएको उनी बताउँछन् । तर, यसैमा होमिएर आफ्नो पेशालाई चटक्कै माया मारेका थिएनन् उनले ।

यही अभियानलाई देशव्यापी रुपमा फैलाउने क्रममा नै मानवसेवा आश्रमको मूख्य कार्यालय हेटौंडामा स्थापना भएको उनले बताए । ‘त्यसपछि क्रमश काठमाडौं, पोखरा आदि ठाउँमा शाखाहरु बन्दै गए’, उनले लोकपथलाई भने, ‘अहिले १२ जिल्लामा १४ वटा शाखा छन् ।’ 

पेशा र समाजसेवालाई सँगसँगै लैजाँदा उनकी श्रीमती रस्मीलाई पनि खासै समस्या थिएन । तर, ‘वकालत’ नै त्यागेर समाजसेवा गर्ने धर्मप्रसादको निर्णयले भने उनलाई विचलित बनायो । ‘सेवा गर्नुसँग मेरो कुनै आपत्ति थिएन तर, आम्दानीको स्रोत नै बन्द भएपछि घरव्यवहार कसरी चलाउने भन्ने कुराले पिरोलिरहन्थ्यो मलाई’, रस्मीले त्यसबेलाको मनोदशालाई शब्दमा उतार्दै भनिन्, ‘तर विस्तारै उहाँसँगै आश्रममा गएर सेवा गर्न थालेपछि मैले छुट्टै आनन्द महसुस गरें ।’

रस्मीले वेलावेला आयआर्जनको बाटो बन्द भयो भन्दै चिन्ता व्यक्त गर्दा धर्मराज सम्झाउँथे, ‘जसको कोही हुँदैन उसको भगवान हुन्छ, सेवा गरे मेवा अवश्य पाइन्छ ।’ नभन्दै उनको यो भनाइ सत्य सावित भएको छ ।

ललितपुरस्थित मानवसेवा आश्रममा अहिले ४४ जना सदस्य छन् । कोही सडकमा अलपत्र अवस्थामा भेटिएका, कोही मानसिक सन्तुलन गुमाएका अनि कोही उनीहरुबाटै जन्मिएका बालबालिका । संस्थाले यस्ता बेसहारा व्यक्तिहरुलाई खाने, बस्ने सुविधा मात्र नभएर पारिवारिक वातावरण प्रदान गरेको धर्मप्रसाद बताउँछन् । 

‘कतिजनालाई त हामीले उहाँहरुको परिवारसँग पुनर्मिलन पनि गराएका छौं’, सन्तुष्ट भावमा उनी भन्छन्, ‘परिवारै नहुनेहरुले यहीँ आफ्नो प्राण त्याग्नुभएको छ ।’

जे होस् यी सबै बेसहारा व्यक्तिहरुले धर्मराजको सानिध्यमा नयाँ जीवन पाएका छन् । र धर्मराजले उनीहरुको सानिध्यमा अथाह खुसी सञ्चित गरिरहेका छन् । धर्मराज पौडेलको यही खुसी ह्यासट्याग स्माइलको आजको अंकमा समेटेका छौं । भिडियो हेर्नलाई तलको लिंकमा क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?