डीपीएल क्रिकेट : महेन्द्रनगर युनाईटेड दोस्रो क्वालिफायर्समा प्रवेश

धनगढी । महेन्द्रनगर युनाईटेड तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ ।

बिहीवार भएको इलिमिनेटरमा बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई १ रनले हराउँदै शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर क्वालिफायर्समा पुगेको हो ।

यो सँगै महेन्द्रनगरले फाइनल प्रवेशका लागि शुक्रवार हुने दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेनन्सको सामना गर्नेछ । 

शुक्रवारको हुने खेलबाट विजेता हुनेले शनिवार हुने फाइनलमा सिवाईसी अत्तरियाको सामना गर्नेछ । 

फाप्ला क्रिकेट मैदानमा महेन्द्नगरले दिएको १ सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देहीले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनायो । 

खेलको अन्तिम ओभरमा रुपन्देहीलाई जितका लागि ५ रनको आवश्यकता रहेको थियो । तर, महेन्द्रनगरका अविनाश बोहराले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै टोलीलाई जित दिलाए । अविनाशले अन्तिम ओभरमा १ रन दिएर ३ विकेट लिए । जसमा २ रन आउट रह्यो ।

रुपन्देहीका लागि प्रदीप सिंह ऐरी र बाबर हायतले समान २८–२८ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै विनोद भण्डारी २३ रनमा आउट हुँदा सन्दीप सुनार १४ रनमा आउट भए । सुमित महर्जन १० रनमा आउट भए ।

महेन्द्रनगरका अविनास बोहराले २ विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र सिदान्त लोहनीले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

कप्तान शरद भेषवाकरले अविजित २९ रन जोडे । शरदले सातौं विकेटका लागि अमर सिंह रौटेलासंग मिलेर ४९ रनको साझेदारी गर्दै टोलीको इनिङस उकासेका थिए । अमर १९ रनमा आउट भए ।
यस्तै आनन्द सुब्रमन्युले २० रन जोड्दा मोहमद नाभिदले १८ रन बनाए । अविनाश बोहोरा र आरिफ शेख ११–११ रनमा आउट भए ।

रुपन्देहीका ललित भण्डारी एक्लैले ४ विकेट लिए । यस्तै पुनित मेहेराले ३ तथा कप्तान बसन्त रेग्मीले १ विकेट लिए ।

प्रतियोगितामा महेन्द्रनगर चौथो स्थानमा रहदै प्ले अफमा पुगेको थियो । यस्तै रुपन्देही तेस्रो स्थानमा रहदै प्ले अफमा पुगेको थियो ।

यस्तै महेन्द्रनगरले रुपन्देहीसंग समूह चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ । समूह चरणमा महेन्द्रनगर रुपन्देहीसंग २ रनले पराजित भएको थियो ।

रुपन्देही भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?