उत्तर कोरियामा खाद्य संकट

एजेन्सी । उत्तर कोरियामा खाद्य संकट देखा परेको छ । तापक्रम वृद्धि, खडेरी, बाढी तथा संयुक्त राष्ट्रसंघको प्रतिबन्धका कारण उत्तर कोरियामा खाद्य संकट देखा परेको हो । 

सन् २०१९ मा उत्तर कोरियामा १४ लाख टन खाद्यान्नको कमी रहने प्योङयाङले उल्लेख गरेको छ । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच हुने दोश्रो शिखर वार्ता अघि उत्तर कोरियाली संयुक्त राष्ट्रसंघीय मिशनले मेमो जारी गरेको छ । 

जारी गरिएको मेमोमा अन्तर्राष्ट्रिय समुदायमा खाद्य संकटबारे तत्काल निर्णय लिन आग्रह गरिएको छ ।

राष्ट्रसंघले गत नोभेम्बर र डिसेम्बरमा गरेको अध्ययनको पुनावलोकन गर्न विश्व खाद्य कार्यक्रमलाई आग्रह समेत गरेको छ ।

तर, अमेरिकाले उत्तर कोरियाले आणविक कार्यक्रम पूर्णरुपमा बन्द नगरेसम्म प्रतिबन्ध फुकुवा नगर्ने प्रष्ट पारेको छ ।

सन् २००६ मा संयुक्त राष्ट्रसंघको सुरक्षा काउन्सिलका १५ सदस्यले सर्वसम्मत निर्णय गर्दै उत्तरी कोरिया प्रतिबन्ध लगाएका थिए ।

प्योङयाङले आणविक र ब्यालिष्टिक मिशाईल कार्यक्रम बन्द गर्ने सर्त सहित सो प्रतिबन्ध लगाइएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?