मन्त्री फेर्ने तयारीमा प्रधानमन्त्री ओली, को–को ‘डेन्जर जोन’मा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ३ फागुनमा १ वर्ष पुग्यो । एक वर्षे कार्यकालमा सरकारले कुनै उल्लेखनीय काम गर्न नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आरोप लगाइरहेको अवस्थामा अब काम कसरी प्रभावकारी बनाउने भन्नेमा प्रधानमन्त्री केपी शर्मा ओली दवावमा देखिएका छन् । 

नेकपा निकट स्रोतका अनुसार कतिपय मन्त्रीले सही ढंगले कार्यसम्पादन गर्न नसकेकाले मन्त्री फेरेर भएपनि जनमुखी कामलाई निरन्तरता दिने विषयमा प्रधानमन्त्री आन्तरिक छलफलमा जुटेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली रिजल्ट दिन नसक्ने मन्त्रीहरुलाई निरन्तरता दिने पक्षमा नरहेको र उनीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने विषयमा छलफलमा लागेको नेताहरु बताउँछन् । नेकपा निकट एक नेताले मन्त्री फेर्ने विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच दुई चरणमा छलफल भइसकेको जानकारी दिँदै सांगठनीक एकीकरणको टुंगो लगाइएपछि मन्त्री फेर्ने विषयमा पार्टीमा आधिकारिक रुपमै प्रवेश गराएर निर्णय गर्ने तय भएको जानकारी दिए । 

ती नेताका अनुसार शुक्रबार बस्ने नेकपा सचिवालय बैठकमा सांगठनिक एकताको विषयमा टुंगो लगाउने प्रयास हुनेछ । सो विषयमा टुंगिएलगत्तै मन्त्रीहरुको कार्यसम्पादनको समीक्षा शुरु हुने उनको भनाई छ । 

कुन मन्त्रीको कार्यसम्पादन कस्तो ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको अनुगमनका क्रममा अधिकांश मन्त्रालयको कार्यप्रगति सन्तोषजनक देखिएको छैन । २२ मन्त्रालयमध्ये १२ मन्त्रालय अनुगमनको क्रममा कमजोर देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार कार्ययोजनाअनुसार काम नगर्नेमा बिना मगर मन्त्री रहको खानेपानी मन्त्रालय शीर्ष स्थानमा रहेको छ । 

गत साउनदेखि माघ मसान्तसम्म ७ महिनामा १ सय १३ कार्ययोजनामा खानेपानी मन्त्रालयले ९.३ प्रतिशत काम सुरु नै गरेको छैन । ४.४२ प्रतिशत काम भइरहेको र ६.१९ प्रतिशत कार्ययोजना सम्पन्न गरेको प्रधानमन्त्री कार्यालयको आँकडा छ । 

यस्तै समयमा कार्ययोजना सम्पन्न नगर्ने दोश्रोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको छ । 

यसो त मन्त्रालयहरुलाई काम गराउन दवाव दिने उद्देश्यले यस्तो कार्ययोजना ल्याउने प्रधानमन्त्री कार्यालय स्वयं पनि समयमा कार्ययोजना पूरा नगर्ने तेश्रो स्थानमा परेको छ । प्रधानमन्त्री कार्यालयले ४ कार्ययोजनामा ७८.५७ प्रतिशत कार्ययोजना शुरु नै गरेको छैन । ७.१४ प्रतिशत कार्ययोजनाको काम भइरहेको छ भने १४.२ कार्ययोजना पूरा गरेको छ ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भूमि तथा सहकारी मन्त्रालय, कानुन मन्त्रालय, खेलकूद मन्त्रालय, सञ्चार मन्त्रालय, शिक्षा मन्त्रालय, ऊर्जा मन्त्रालय र शहरी विकास मन्त्रालय पनि कार्ययोजन पूरा नगर्नेमा रहेका छन् । 

प्रधानमन्त्री कार्यालयका अनुसारको आंकडा अनुसा धेरै कार्ययोजना पूरा गर्नेमा सबैभन्दा अगाडि परराष्ट्र मन्त्रालय रहेको छ  । मन्त्रालयले आंकडाअनुसार ५१ कार्ययोजना मध्ये परराष्ट्रले ६० प्रतिशत कार्ययोजना सम्पन्न गरेको छ भने ३२.३३ प्रतिशत कार्ययोजनाको काम भइरहेको छ । यस्तै ७.६७ प्रतिशत कार्ययोजनाको काम शुरु भएको छैन । 

यस्तै श्रम, रक्षा, महिला, कृषि जस्ता मन्त्रालयको कार्यप्रगति भने सन्तोषजनक देखिएको छ । 

गत साउनदेखि प्रधानमन्त्री कार्यालयले समय तालिका बनाएर मन्त्रालयहरुलाई काम छिटो गराउन अनुगमनको पनि अनुगमन गर्ने कार्ययोजना अघि सारेको थियो । सफ्टवेयर बनाएर मन्त्रालयले गरेको कामका आधारमा ‘रेटिङ’ अर्थात नम्बर दिने र सो को विवरण एप्लिकेशन मार्फत प्रधानमन्त्री ओलीले नै हेर्न सक्ने व्यवस्था गरिएको थियो ।

प्रधानमन्त्री कार्यालयले गरेको कार्यमूल्यांकनसँगै मन्त्रीबाट गर्न सकिने आशा, कार्यअवधिमा गरेको प्रयास र मूल्यांकनको आधारमा हालका लाई विदाई गर्ने र नयाँलाई जिम्मेवारी दिने विषयमा नेकपा र सरकारभित्र छलफल चलिरहेको नेकपा निकट स्रोत बताउँछ । जसअनुसार कार्यसम्पादन ठीकै भएपनि  विवादमा तानिएको आधारमालाई हटाएर नयाँ ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ । 

 यस्तै कानूनमन्त्री, महिलामन्त्री, खानेपानी मन्त्रीसमेतलाई हटाइने सम्भावना रहेकोछ । पार्टीभित्र अर्थमन्त्री युवराज खतिवडासमेतलाई हटाइनुपर्छ भन्नेमा मत रहेको भनिएपनि प्रधानमन्त्री भने उनलाई निरन्तरता दिने पक्षमा रहेका छन् । यस्तै गृहमन्त्री रामबहादुर थापा बादलको बारेमा पनि पार्टीभित्र गाँइगुइँ चल्न थालेको छ ।

कृषिमन्त्री भन्छन् काम गर्न नसके राजीनामा दिन्छु 
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले पनि प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने बताएका छन् । 

‘मन्त्रिमण्डल फेरबदल हुनु कुनै नौलौ कुरा होइन, राम्रो काम गर्न नसके स्वयं आफैं पनि हट्नुपर्छ । मेरो हकमा भन्नुहुन्छ भने प्रधानमन्त्री र पार्टीले हटाउनुपर्दैन, राम्रो काम गरेको छैन भने म आफै मन्त्री पदबाट हट्छु’ मन्त्री खनालले भने । 

जुनसुकै पार्टीको सरकार सत्तामा आएपनि टिकाटिप्पणी हुनु स्वभाविक भएको भन्दै उनले प्रतिपक्षले सरकारले गरेका काममा आलोचना हुने कुरा अपेक्षाकृत भएको भन्दै पार्र्टीपङ्क्तिमा सरकारको राम्रो कामको प्रचार गर्ने, तर भित्र आलोचना गर्नुपर्ने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?