निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन, उपचारका लागि काठमाडौं आउँदै

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गरेका छन् ।  

शुक्रवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगन गरेका हुन् । गत कात्तिक २५ गतेदेखि स्थानीय नागरिक सङ्घर्ष समितिको पहलमा उनीहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना बसेका थिए । 

छोरीको हत्या भएको सात महीना बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको निर्मलाका बुबा यज्ञराज पन्तले गुनासो पोखे । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टलाई ज्ञापनपत्र बुझाउँदै पन्तले घटनाको प्रमाण मेटाउने प्रहरी कर्मचारीलाई उन्मुक्ति दिने वातावरण सिर्जना गर्ने गिरोह सक्रिय रहेको बताए । 

“प्रमाण मेटाउनेलाई विभागीय कारवाहीबाहेक केही भएन”, उनले भने, “अपराधी जोसुकै होस् कारवाहीको दायरामा ल्याउनु प-यो ।” धर्ना बस्दा स्वास्थ्यमा समेत समस्या देखिएकाले स्थगित गरिएको उल्लेख गर्ने निर्मलाका परिवारले न्यायका लागि दबाब जारी राख्ने बताएका छन् ।

धर्ना स्थगितपछि पन्त परिवार उपचारका लागि काठमाडौं जाने भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?