९ महिनामा ५६ केजी तौल घटाएकी शवाना खातुनको त्यो टर्निङ प्वाइन्ट

काठमाडौं । ‘चेन्ज योर वुन्ड्स इन्टु विस्डम’ अर्थात् आफ्नो चोटलाई शक्तिमा बदल । संसारकै लोकप्रिय सञ्चारकर्मी र फिलान्थ्रोपिस्ट ओप्रा विन्फ्रेले भनेका यी शब्दहरु सुन्नमा जति सान्दर्भिक छन् वास्तविक जीवनमा अपनाउन उति नै कठिन । यद्यपि जसले यसको मर्म बुझेर आफ्नो जीवनमा लागू गर्ने क्षमता राख्छ उसलाई कुनै बाधाव्यवधानले सफल हुनबाट रोक्न सक्दैन । यस्तै एक उदाहरण हुन् शवाना खातुन । 

५ फिट ७ इन्च उचाइ, गोरो वर्ण, मिलेको जिउडाल, हँसिलो मुहार । यस्तै छिन् शवाना । कोकाकोला, आवरग्लास लगायत वस्तुसँग दाँजेर जसरी ‘पर्फेक्ट फिगर’ को चित्र हाम्रो मस्तिष्कमा कोरिएको छ ठ्याक्कै त्यस्तै मिलेको जिउडाल छ उनको । तर, आफ्नो सुन्दर ‘वर्तमान’ एउटा कहालीलाग्दो ‘विगत’को उपज भएको उनी सुनाउँछिन् । 

भन्छिन्, ‘यो उज्यालो बिहानीसम्म आइपुग्न धेरै लामो कालो रात पार गरें ।’

उनको त्यो ‘कालो रात’को रहस्य खोतल्ने प्रयास ग¥यौं हामीले । उनले पनि सजिलै आफ्नो इतिहास खोलेर राखिदिइन् हाम्रो सामू । 

त्यस इतिहासमा शवाना अहिलेभन्दा विल्कुलै फरक स्वरुपमा देखिइन् । १ सय १५ किलो तौल भएको उनको शरीरले उनलाई जति थिचेको थियो उनको आत्मविश्वासलाई पनि त्यति नै । खाउँखाउँ लाउँलाउँ हुने उमेरमा उनी आफ्नो ज्यानलाई मिल्ने कपडा खोज्दै भौतारिन्थिन् शहरका पसलहरुमा । आफन्तकोमा हुने बिहे, पार्टीमा जान त लगभग छोडिसकेकी थिइन् उनले । त्यस्तै, घरमै हुने समारोहमा पनि मान्छेको हुलभन्दा अलग्गै बस्न रुचाउने भइसकेकी थिइन् उनी । 

‘बाटोमा हिँड्दा समेत सबैले फर्केर हेर्थे, एकआपसमा कानेखुसी गर्थे,’ आफ्ना कष्टकर दिन सम्झिँदै उनी भन्छिन्, ‘मलाई अरुसँग मात्र होइन आफैंसँग पनि लाज लाग्न थालिसकेको थियो ।’

त्यो टर्निङ प्वाइन्ट…
मान्छेहरुको नकारात्मक प्रतिक्रियाबाट विचलित हुने, आफैले आफैलाई घृणा गर्ने, समाजबाट टाढै रहने जस्ता क्रियाकलापबाट आफैलाई हरेक दिन पिल्साइरहेकी शवानाको जीवनमा पनि एउटा टर्निङ प्वाइन्ट आयो । 

त्यस घटनालाई यसरी स्मरण गर्छिन् उनी ।

एकदिन ब्लाउज सिलाउन भनेर कपडा लिएर गएकी थिएँ । छेउमै भएका महिलाहरुले ‘तिम्रो ब्लाउजको कपडाले त हामीलाई कुर्ता नै पुग्ने रहेछ’ भन्नुभयो । त्यो एक वाक्य मेरो मस्तिष्कमा यसरी गाडियो कि त्यहाँदेखि घर पुगुन्जेलको समयमा मैले के के सोच्न भ्याएँ भनेर याद छैन । तर, जे होस् त्यही समयदेखि मैले आफैलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचें । प्रयास नगरी हार मान्नुभन्दा एकपटक प्रयास गरेर हार्नुको मज्जा वेग्लै भन्ने सोचेर नै म अर्को दिनदेखि फिटनेस क्लास जान थालें ।

कोसिस गर्नेको कहिल्यै हार हुँदैन
मुस्लिम परिवारमा जन्मिएतपनि परिवारले आफ्नो निर्णयमा कहिल्यै कुनै किसिमको रोकटोक नगरेको शवाना बताउँछिन् । 

‘शायद परिवार पनि सबैतिरबाट आउने नकारात्मक कमेन्टबाट दिक्क हुनुभएको थियो,’ उनी अगाडि थप्छिन्, ‘त्यसैले मलाई जिम जानबाट रोक्नुभएन बरु सपोर्ट गर्नुभयो ।’ 

कोसिस गर्नेहरुको कहिल्यै हार हुँदैन भनेझैं उनको मिहिनेतले विस्तारै रङ्ग भर्दै ल्यायो । क्रमश तौल घट्दै गयो, उनको शरीर पहिले भन्दा केही छरितो देखिन थाल्यो । 

हरेक दिन महसुस भइरहेको सकारात्मक परिवर्तनले आफूलाई झनै बढी मिहिनेत गर्ने हौसला दिएको उनले बताइन् । 

‘मिहिनेत अनुसारको प्रोग्रेस हुँदा कसलाई पो हौसला मिल्दैन र’, शवाना मुस्कुराउँदै बोलिन्, ‘त्यसैले ९ महिनामै मैले ५६ केजी तौल घटाउन सफल भएँ ।’यति छोटो समयमा यति ठूलो उपलब्धि हासिल गर्दा कतिले ‘असम्भवलाई सम्भव बनाएको’ भन्दै उनको तारिफ गरे । उनी आफैले पनि ऐनामा आफूलाई वेग्लै देख्न थालिन् । 

भन्छिन्, ‘त्यस दौरान शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि म पूरै परिवर्तन भएछु ।’

 ९ महिने फिटनेस यात्राले उनलाई ‘फिट शरीर’ मात्र नभएर जीवन जिउने आधार दियो भन्दा खासै फरक नपर्ला । किनकी त्यसपछि नै उनले आफूजस्तै व्यक्तिहरुलाई फिटनेस प्रशिक्षण दिन थालिन् । 

‘आफूले सिकेको कुरा अरुलाई सिकाउन पाउँदा र त्यस सिकाइबाट उनीहरुमा सकारात्मक परिवर्तन आउँदा छुट्टै खुसी महसुस हुँदो रहेछ,’ सन्तुष्ट भावमा मुस्कुराउँदै उनले भनिन् ।

‘फिट बडी’ अरुका लागि होइन आफ्ना लागि हो 
शवानाका अनुसार फिटनेस स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएकाले सबैले ‘जिम’ गर्नु आवश्यक छ । तर, फिटनेस प्रक्रियालाई सवास्थ्यसँग भन्दा पनि ट्रेन्ड र फेसनसँग जोड्नु गलत हो । त्यस्तै अर्काको देखासिकी गरेर स्वास्थ्यलाई नै असर पर्ने गरी जिम गर्नु, खाना नखानु जस्ता अभ्यासको आफू विरोधी भएको उनले बताइन् । 

आफ्नो चार वर्षे यात्रामा उनले सिकेको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, ‘जबसम्म आफ्नो तौलले आफूलाई कुनै समस्या पु¥याएको हुँदैन तबसम्म अर्काले जेसुकै भनेपनि खासै फरक पर्दैन ।’ ‘अर्थात्, फिट बडी अर्काको लागि होइन, आफ्ना लागि बनाउने हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?