‘प्रदेश ७’को नाम ‘सुदूरपश्चिम’ ? गृहमन्त्रीले आश्चर्य मान्दै भने, ‘मलाई त थाहा नै छैन’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रदेश ७ को नामाकरण भएकोबारे आफूलाई थाहा नभएको बताएका छन् । 

आइतवार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री थापाले प्रदेश नम्बर ७ को नामाकरण ‘सुदूरपश्चिम’ बनेकोबारे आफू आझै अनभिज्ञ भएको बताएका हुन् । 

काठमाडौं उपत्यकासहित विभिन्न प्रदेशमा एनसेलका टावरमाथि श्रृंखलावद्ध रुपमा भएको हमलाको विवरण प्रस्तुत गर्ने क्रममा गृहमन्त्री थापाले ‘प्रदेश नम्बर ७’ भन्दै तथ्यांक प्रस्तुत गरेका थिए । त्यस लगत्तै समितिका सांसदहरुले प्रदेश ७ नभएर सुदूरपश्चिम प्रदेश भनेर सम्झाएका थिए ।

समितिका सांसदले भने, ‘प्रदेश नम्बर ७ होइन, गृहमन्त्रीज्यू ! सुदूरपश्चिम प्रदेश हो ।’ 

सांसदले भनेको कुरा सुनेर आश्चर्य मान्दै गृमहन्त्री थापाले ‘ए हो र ?, सुदूरपश्चिम नाम भइसक्यो ?’ भनेर जवाफ दिएका थिए । 

उता गृहमन्त्रीको जवाफमा संसादहरुले ‘हो’ भनेका थिए । 

त्यसपछि गृहमन्त्री थापाले ‘प्रदेश ७’ को साटो ‘सुदूरपश्चिम प्रदेश’ भनेर तथ्यांक प्रस्तुत गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?