किसानको छोरो यसरी बने पाइलट, भन्छन्–उडानमा भन्दा ल्याण्डिङपछि डर !

काठमाडौं । ‘देशले तिम्रो लागि के ग-यो भनेर होइन तिमीले देशका लागि के ग-यौ भनेर सोध’ जोन एफ केनेडी, ३५ औं अमेरिकी राष्ट्रपतिको यस भनाइलाई आत्मसाथ गरेका छन् क्याप्टेन वेद उप्रेतीले । नेपालमै पहिलो हवाइ संग्रहालय बनाएर उप्रेतीले सबैलाई आफ्नो देशका निमित्त केही गर्नुपर्छ भन्ने सन्देश दिएका छन् ।

३ दशकभन्दा बढी समयदेखि हवाइचालकका रुपमा कार्यरत क्याप्टेन वेदको नेतृत्वमा नेपालका दुई ठाउँमा हवाइ संग्रहालय बनिसकेका छन् । पहिलो एयरक्राफ्ट संग्रहालय कैलालीको धनगढीमा र दोस्रो, काठमाडौंस्थित सिनामंगलमा । धनगढीको संग्रहालय ‘कस्मिक एयर’को ग्राउन्डेड हवाइजहाजमा राखिएको छ भने सिनामंगलको संग्रहालय टर्किस एयरको एयरबस ३३० मा ।

‘नयाँ मोडल र महंगो भएकाले संसारमै अहिलेसम्म एयरबस ३३० कुनै संग्रहालयमा राखिएको छैन,’ गर्विलो आवाजमा वेदले भने ।

त्यसो त हवाइ संग्रहालय बनाउनु नौलो कुरा अवश्य थिएन । संसारमा कैयौं ‘एभिएसन म्युजियम’हरु छन् । तर, वेदले यसलाई जस्तो स्वरुप दिए त्यो भने विश्वकै लागि नौलो सावित भएको उनी बताउँछन् । सफल व्यक्तिले भिन्न काम गर्दैन, एउटै कामलाई भिन्न तरिकाले गर्छ भनेको शायद यही हुनुपर्छ । 

कैलालीको विकट गाउँबाट शुरु भएको सपनाको उडान

वि सं २०२० मा कैलालीको एक सामान्य किसान परिवारमा वेदको जन्म भयो । पढाइमा सानैदेखि तीक्ष्ण वेदले इन्जिनियर बन्ने सपना देखेका थिए । तर, समयपरिस्थितिका कारण उनी बने नेपाली सेनाका पाइलट । शहरमा राखेर ठूलो विषय पढाउन सक्ने परिवारको आर्थिक अवस्था नभएकाले सेनामा भर्ती भएर पाइलटको प्रशिक्षण लिएको उनले सुनाए ।

‘१२ वर्ष नेपाली सेनाको पाइलटका रुपमा काम गरें, ८ वर्ष नेकोन एयरमा, केही समय भारतको डेकन एयरलाइन्समा, फेरि ८ वर्ष किंगफिसर एयरलाइन्समा र अहिले इनडोनेसियाको लायन एयरमा कार्यरत छु,’ आफ्नो ३ दशकभन्दा लामो हवाइजीवनलाई उनले यसरी केही शब्दमा अटाए । 

यतिका वर्ष हवाइचालकका रुपमा कार्यरत वेद ‘बाँच्न’मा भन्दा पनि ‘जीवन जिउन’मा विश्वास गर्ने बताउँछन् । त्यसैले होला उनले आकाशको विशालता र समुद्रको गहिराइ दुवैको अनुभव सँगालिसकेका छन् । त्यही अनुभवका केही झलकहरु सिनामंगलस्थित हवाइ संग्रहालयमा पनि राखिएको छ । 

‘मलाई प्लेन उडाउने मात्र होइन ट्राभलिङ र फोटोग्राफीको पनि सोख छ,’ ८० वटा भन्दा बढी देश घुमिसकेको प्रसंग जोड्दै उनले थपे, ‘घुम्ने क्रममा मैले खिचेका तस्वीरहरु पनि संग्रहालयमा राखेको छु ।’

सुदूरपश्चिमस्थित कैलालीको सानो गाउँबाट निस्किएर संसारका ८० भन्दा बढी देश टेकिसकेका वेद चाहान्छन् पढाइ, व्यवसाय गर्ने क्रममा जो, जहाँ पुगेपनि आफ्नो देशका निमित्त सबैले आफ्नो ठाउँबाट केही गरुन् ।

‘प्लेन उडाउँदा भन्दा ल्यान्ड भएपछि डर लाग्छ’

‘११ हजार घण्टा भन्दा बढी समय उडिसकेको भन्नुहुन्छ, प्लेन उडाउँदा डर लाग्दैन ?’ हामीले जिज्ञासा राख्यौं । 

मुस्कुराउँदै उनले भने, ‘उडाउँदा डर लाग्दैन, बरु ल्यान्ड भएपछि चाहिँ केही भएको भए भन्ने लाग्छ ।’

उनले जति सरलतापूर्वक उत्तर दिए, उति नै अनपेक्षित लाग्यो यो जवाफ । थप प्रष्ट्याउने आग्रह गर्दा उनले मुस्कुराउँदै भने, ‘उड्नुभन्दा अगाडि वा उड्ने क्रममा म आफ्नो दिमागमा कुनै किसिमको नकारात्मक सोच आउनै दिन्न तर, ल्यान्ड भइसकेपछि भने यत्रो मान्छेहरुको जिम्मेवारी ममाथि थियो भने सम्झेर मन झसङ्ग हुन्छ ।’

९० प्रतिशतले ‘नगर’ भनेका थिए

वेद हाल इन्डोनेसियाको लायन एयरमा इन्स्ट्रक्टर, सेमिनेटर इन्स्ट्रक्टर, एक्जामिनर, सिआर र ग्राउन्ड इन्स्ट्रक्टरका रुपमा कार्यरत छन् ।  व्यवसायिक जीवनमा वेद जति सफल छन् पारिवारिक जीवनमा उति नै सन्तुष्ट । आफ्नो देशमा, आफन्त र परिवारसँग धेरै समय बिताउन नपाएपनि आफूले सकेसम्म समय व्यवस्थापन गरेर अघि बढिरहेको उनी बताउँछन् । 

एभिएसन म्युजियम बनाएकोमा अहिले आफ्ना साथीभाइ, आफ्ना आफन्त र परिवारले गर्व महसुस गरेतापनि शुरुमा यस योजनाप्रति कोही पनि सकारात्मक नभएको उनले बताए ।

 ‘मैले जसलाई आफ्नो योजनाको बारेमा भने त्यसमध्ये ९० प्रतिशतले यसो गर्न सम्भव छैन भनेका थिए,’ वेद अगाडि थप्छन्, ‘तर, गर्न सक्दैनस् भनेको काम गर्नुको मज्जा नै वेग्लै हुँदो रहेछ ।’

‘देशको लागि गरेको हुँ पैसाको लागि होइन’

वेदले वेलावेला एउटै आरोपको सामना गरिरहनुपर्छ ‘एभिएसन म्युजियम बिज्नेस ओरियन्टेड हो’ ।

देशको पर्यटन प्रवद्र्धन र विद्यार्थीहरुका निमित्त यति धेरै लगानी र मिहिनेत खर्चेर स्थापना गरेको संरचनालाई यस्तो आरोप आउँदा केही दुखी भएको उनी बताउँछन् । यस्तो आरोप लगाउनेलाई के भन्न चाहानुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘पैसाकै लागि हुन्थ्यो भने पहिलो संग्रहालय आफ्नो जन्मथलो कैलालीमा होइन राजधानीमै बनाउने थिएँ ।’

वेद थप्छन्, ‘मेरा साथीहरुले विदेशमा रेस्टुरेन्ट खोलेका छन् तर, मैले आफ्नै देशमा केही गरौं भन्ने उद्देश्यले यस संग्रहालयको स्थापना गरेको हुँ ।’

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई संग्रहालयमा निःशुल्क प्रवेश र हरेक विद्यार्थीलाई आधा शुल्क लाग्ने व्यवस्था मिलाइदिनुले पनि यसको उद्देश्य पैसा भन्दा पनि सेवा भएको भन्दै उनले प्रष्ट्याए ।

भिडियो हेर्नलाई तलको लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?