आपराधिक क्रियाकलाप नियन्त्रण गर्न  नेपाल–भारत सिमानामा कडाइ सुरु

काठमाडौँ। भारत र पाकिस्तानबीच विवाद बढ्दै गएपछि  नाकाबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न  नेपाल–भारत सिमानामा कडाइ सुरु गरिएको छ ।

रूपन्देहीको सीमावर्ती नाका बेलहिया र भारतीय सीमावर्ती नाका सुनौलीमा दुवै देशका सुरक्षाकर्मीले सुरक्षा जाँचमा कडाइ गर्न थालेको हो । 

उक्त खुला सिमानाका  कारण घुसपैठ गरी आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले भारतले सीमामा कडाइ गरेको  जनाएको छ ।

साथै  केही महिनापछि हुन लागेको लोकसभा निर्वाचनमा घुसपैठ हुन सक्ने आशंका गरि  भारतले नेपालसँग सुरक्षा सहयोग गर्न आग्रह  समेतगरेको छ।

 भारतीय नाका सुनौलीबाट हुन सक्ने आतंककारी क्रियाकलाप रोक्न भारतीय गुप्तर संस्था (रअ) इन्टिलिजेन्स ब्युरो (आइबी) स्पेसल टाक्स फोर्स (एसटिएफ), लोकल इन्टिलिजेन्स युनिट (एलआइयु) सीमा सुरक्षा बल (एसएसबी) लगायत सम्पूर्ण युनिट सीमा नाकामा सक्रिय रहेको जनाएको  छ । 

स्रोतको अनुसार ‘सबै गुप्तर संयन्त्र आआफ्नो ढंगले निगरानी गर्दै नाकामा सक्रिय छन्’र  ‘सूचना स्रोतसँग पनि उनीहरु निरन्तर सम्पर्कमा छन्।’ अवैध घुसपैठ, आतंककारी क्रियाकलापलगायत नाकाबाट हुन सक्ने अन्य घटनालाई दृष्टिगत गरी सीमावर्ती क्षेत्रमा सुरक्षा उच्च सतर्कता अपनाइएको सोनौली कोतवालीका निमित्त प्रमुख सब–इन्सपेक्टर राजेन्द्र सिंहले जानकारी दिए। अवैध घुसपैठका लागि सुनौली नाका संवेदनशील मानिन्छ।

सिंहले नाकाबाट विस्फोटक पदार्थ भित्रिन सक्ने सम्भावना रहेकाले चौबीसै घन्टा निगरानीमा राखेर गस्ती गरिरहेको समेत जानकारी दिए ।

भारतीय सुरक्षा निकायले नाकाबाट हुने सक्ने सम्भावित घटना रोक्न नाकामा रहेको होटल, धर्मशाला, ग्रामीण क्षेत्र, बसपार्क, बैंकलगायत सबै क्षेत्रमा प्रत्यक्ष निगरानीमा राखेको छ।

प्रहरीले धर्मशाला, होटलमा आगन्तुक सबैको विवरण राख्ने काम गरेको छ भने गाउँमा देखिएका नयाँ व्यक्तिसँग सोधपुछ गर्ने कार्य गरिरहेको छ। समयसमयमा सप्राइज चेकिङसमेत गरिरहेको भारतीय प्रहरीले जनाएको छ ।

 ‘हाई अलर्टअन्तर्गत हामीले सादा पोसाकमा गाउँगाउँमा पनि प्रहरी टोली खटाएका छौं’, उनले भने, ‘गाउँमा वा कसैको घरमा नयाँ व्यक्ति आएको सूचना पाएलगत्तै हामी सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्न थालेका छौं।’

नाकामा यतिबेला विशेष रूपमा सरक्षा जाँच भइरहेको एसएसबी सुनौलीका प्रमुख इन्सपेक्टर रतनसिंह अहिरले बताए। उनले भने, ‘अहिले हाई अलर्ट घोषित गरिएको छ जस अनुसार हाम्रो सयन्त्र कडा रुपमा नाकाको निगरानी गरिरहेको छ।’

 प्रमुख रूपन्देहीका प्रहरीएसपी हृदय थापा ले नियमित सुरक्षा गस्ती साथै विप्लव नेतृत्वको नेकपाको गतिविधि निगरानी गर्न पनि थप सुरक्षा टोली परिचालन गरिएको बताए। साथै उनले जिल्लामा परिचालित सुरक्षा गस्तीले नाकाबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नसमेत मद्दत पुग्ने बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?