एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास

काठमाडौं । ‘युवतीमाथि एसिड आक्रमण’, ‘एसिड आक्रमणमा परेर शरीरको ५० प्रतिशत भाग जल्यो’ जस्ता शीर्षकका समाचारले ‘केही’ समयसम्म हाम्रो माथिङ्गलमा ताण्डव गर्छन्, मुटु निचोर्छन् । तर, नानाथरी तानाबानामा अल्झिएको मानिसले कहिलेसम्म पो अर्काको दुखमा कठै भनिरहन सक्छ र ? आखिर जीवनभर त्यस पीडाको बोझ बोक्ने भनेको उही हो जसमाथि आक्रमण भएको हुन्छ, जो अपराधको शिकार हुन्छ । शरीरको घाउ त ढिलोचाँडो भरिएला तर, आत्मामा लागेको चोट जीवनभर भरिन्छ÷भरिन्न निश्चित हुँदैन । विगत ४ वर्षदेखि यस्तै घाउ बोकेर बाँचिरहेकी छिन् संगीता मगर ।


गहुँगोरो वर्ण, चिम्रा आँखा, गोलो चेहरा, पुक्क गाला, यी सबै गुणभन्दा पहिले ध्यानाकर्षण गर्न आइपुग्ने एसिडले छोडेको छाप र त्यस छापलाई फिक्का बनाइदिने संगीताको मुस्कान । बोल्दा शब्द कम र मुस्कान ज्यादा छल्किन्छ उनको । बोलीचाली पनि यति ‘फ्रेन्ड्ली’ छ कि अनुहारको दाग नदेखिने भए जो कोहीले खुट्याउन सक्ने थिएनन् उनीसँग भएको दर्दनाक घटना ।

संगीताको यही मुस्कान र व्यवहारले दर्साउँछ कि उनी त्यही ‘संगीता’ बन्ने कोसिस गरिरहेकी छिन् जो सपना देख्न डराउँदिनथिन्, जसले तेक्वान्दोको रिङमा देश तथा विदेशका प्रतिस्पर्धीहरुलाई मात खुवाएर कैयौं स्वर्ण पदक जितिसकेकी थिइन्, जो घुम्न, रमाइलो गर्न रुचाउँथिन् ।

फ्ल्यासब्याक टु फागुन ११
वि सं २०७१ साल फागुन ११, बसन्तपुरको एक ट्युसन सेन्टरमा १६ वर्षे संगीतामाथि एसिड आक्रमण भयो । आक्रमण गर्ने व्यक्ति थिए रामेछापका जीवन बिक, २०, जो संगीता बसेकै घरको तल्लो तलामा बस्थे । जातीयताका कारण संगीतासँग प्रेम सम्बन्ध टुटेको आक्रोशमा आफूले उक्त कदम चालेको उनको बयान थियो ।

आक्रमणको ‘टार्गेट’ संगीता भएपनि उनीसँगै भएकी साथी सीमा बस्नेतलाई पनि एसिडको बाछिटाले भेटायो ।

एसएलसीको तयारी गरिरहेका किशोरीमाथि भएको यस आक्रमणले सारा देशवासीको ध्यानाकर्षण ग-यो । यसअघि भएका एसिड आक्रमणका घटनाले यतिको ‘हाइप’ शायदै पाएका थिए । देश तथा विदेशबाट सीमा र संगीताका निमित्त न्यायको माग गर्दै आवाज गुञ्जियो भने अपराधीलाई कडा सजाय होस् भन्दै सारा नेपाली जुर्मुराए ।

यता संगीता भने जीवनमरणको साँधमा अस्पतालकोसयौंमा लम्पसार परेकी थिइन् । सीमाको अवस्था भने केही सामान्य थियो ।

त्यस दिन एसिडले संगीताको अनुहारको ९० प्रतिशत भाग सँगसँगै राष्ट्रिय खेलाडी बन्ने सपना पनि जलाइदियो । घटना भएको ४ महिनासम्म संगीतालाई अस्पतालमै राखियो । 

हातका चोट देखे पनि अनुहार र घाँटीका चोटहरुलाई नियाल्न पाएकी थिइनन् उनले । घर ल्याइएपछि उनले ऐना हेरिन् । अनुहार, घाँटी, छातीका चोटलाई पालैपालो नियालिन् । सुम्सुम्याइन् ।

घाउको दुखाइ एकातिर छँदै थियो तर, अब उनलाई घाउको कुरुपताले पनि आहत पु¥यायो । त्यस दिनदेखि ऐना र उनको सम्बन्धविच्छेद भयो । क्यामेरापनि उनको साथी रहेन । आँखाबाहेक अनुहारका बाँकी भागलाई सलमुनि लुकाइन् । साथीभाइ, आफ्ना आफन्तबाट लुक्न थालिन् । सबैभन्दा बढी त संगीता आफैसँग लुक्न थालिन् ।


सामान्य मानिसजस्तै गरी बाँच्न चाहेपनि आफूमाथि भएको असामान्य घटनाले जीवनलाई सामान्य हुनै नदिँदो रहेछ जस्तो लाग्न थालिसकेको थियो उनलाई । ‘बाँच्नै मन लाग्दैनथियो, मर्ने सजिला उपायहरु सोच्दै बस्थें’, ती दिनहरु स्मरण गर्दै उनले भनिन्, ‘फेरि ममीबाबालाई सम्झिएपछि मर्ने सोच आफै हराउँथ्यो ।’

‘दाग सुन्दर लाग्छन्’
न त संगीताको शरीरको घाउ पूर्णरुपमा निको भएको छ न त मनको । एसिड आक्रमणले उनको स्वरुप मात्र नभएर जीवनकै स्वरुपलाई यसरी बदलिदियो कि उनी आफैले आफैलाई सामना गर्न नसक्ने स्थितिसम्म पनि पुगिन् ।

यद्यपि, आक्रमण भएको ४ वर्षपछि भने घटनाले आफूलाई केही बोल्ड बनाएको महसुस हुन्छ संगीतालाई । ‘जीवनमा यत्रो घटना हुँदा त हिम्मत हारिन भने अन्य समस्या त यसै पार गर्छु’ जस्तो लाग्न थालेको उनले बताइन् ।

संगीता अहिले भारतस्थित एक फेसन हाउसको ‘सेल्स डिपार्टमेन्ट’मा काम गर्छिन् । प्लस टुपछिको समयलाई खेर नफाल्ने उद्देश्यले आफूले काम गर्न शुरु गरेको उनले बताइन् । अबको दिनमा भने उनले पढाइसँगै कामलाई पनि अघि बढाउने योजना बुनेकी छिन् । ‘आफ्नो लागि आवश्यक खर्च आफै जुटाइरहेकी छु,’ उनले सुनाइन्, ‘सधैं सहानुभूतिको पात्र भएर हुन्न, आत्मनिर्भर बन्नुपर्छ ।’

ऐना र क्यामेरासँगको उनको दुश्मनीले पनि ‘गिभ अप’ गरिसकेको छ । संगीतालाई आजकल ऐना हेर्न र सेल्फी खिच्न लाज लाग्दैन । अनुहारका दाग आफ्नो कमजोरी नभएर आफूजस्तै पीडितको आवाज बन्नलाई प्रोत्साहन गर्ने ‘शक्ति’ जस्तो लाग्ने उनले बताइन् । 

‘आजकल मुख ढाकेर हिँड्दिन,’ मिलियन डलर्स स्माइल छर्दै उनले थपिन्, ‘दागहरु सुन्दर लाग्छन् ।’

‘घाउ निको हुन नपाइ अपराधी स्वतन्त्र हुन्छ’
जे होस् यो घटनाले संगीताको ‘सपना’लाई नयाँ आकार दिएको छ । घटना नभएको हुँदो हो त आज उनी तेक्वान्दोकी राष्ट्रिय खेलाडी भइसकेकी हुन्थिन्, केही राष्ट्रिय र अन्तर्राष्ट्रिय जीत हासिल गरेर पेट पाल्नलाई कुनै अफिसमा पार्ट टाइम जागिर खाँदै हुन्थिन्, शायद । तर, अहिले उनमा एसिड आक्रमणमा परेका महिला, बालबालिका तथा पुरुषहरुको घाउमा मलम लगाइदिने सोच पलाएको छ । त्यसैले होला आक्रमण भएका अधिकांश पीडितहरुलाई भेट्न पुगिसकेकी छिन् उनी ।

त्यसो त परिवारको भरपुर साथ पाउनु, घटनाको आघातबाट निस्कदै जानु, पढाइ र करियरको विषयमा पनि एउटा लक्ष्य तय गर्नु आदिले संगीताको जीवन सुमधुर रुपमा चलिरहेको जस्तो देखिन्छ । तर, यति हुँदाहुँदै पनि एउटा कुराले उनलाई बेलाबेला झस्काइरहन्छ, ‘अपराधी जेलबाट छुट्ने समय नजिकिदैछ’ ।


उनीमाथि एसिड प्रहार गर्ने जीवन बिक उही थिए जसलाई उनले ‘दाई’ भन्दै सम्बोधन गर्थिन् । घटनापछि युवकले आफूहरु प्रेम सम्बन्धमा रहेको र जातका कारण संगीताले सम्बन्ध तोडेपछि आफूले यस्तो कदम चालेको बयान दिए पनि यो सबै झुटो भएको संगीताको दाबी छ । अहिले जीवन जेलमा छन् ।

तर, आफ्नो घाउ पूर्णरुपमा निको भइनसकी अपराधी सजायमुक्त हुने समय भइसक्यो भन्ने सम्झँदा संगीताको घाउ फेरि चहराउन थाल्छ ।

‘नेपालमा एसिड आक्रमण गर्नेलाई कडा सजायको व्यवस्था नै छैन,’ आक्रोशित लवजमा उनी कड्किइन्, ‘१० वर्षको जेल सजाय भनेको छ त्यही पनि दिन र रात दुवैलाई गनेर अपराधी ५ वर्षमै छुट्छन् रे ।’ यसो भन्दै गर्दा उनको मुहारमा आक्रोश र चिन्ता दुवै किसिमका भावहरु दगुरे ।

‘मेरो घाउ निको नभइ अपराधी अर्को वर्ष जेलबाट छुट्दैछ,’ उनले अगाडि थपिन्, ‘त्यसपछि त ऊ स्वतन्त्र पन्छीजस्तै हुनेभयो नि है ?’

उनको यो अनुत्तरित प्रश्नसहितको गुनासोले नेपालको कानूनी व्यवस्था साँच्चै कमजोर छ भन्ने आशंका गर्न कर लाग्छ । यही जटिल प्रश्न तेर्साउँदै उनले हामीसँगको कुराकानीलाई बिट मारिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?